काठमाडौं । नेकपा (माओवादी केन्द्र) दोलखा–काठमाडौं सम्पर्क समन्वय समितिले तिहार २०८२ को उपलक्ष्यमा “चियापान तथा अन्तरक्रिया” कार्यक्रम सम्पन्न गरेको छ । समितिद्वारा हिजो आयोजित उक्त कार्यक्रम अरु वर्षका भन्दा केही फरक र नयाँ ढंगको रहेको सहभागीहरूले बताएका छन् ।
यसपटकको कार्यक्रममा नेताहरूको भाषण भन्दा पनि जेन्जी पुस्ताका युवाहरूको विचार सुन्ने अवसर प्रदान गरिएको थियो । कार्यक्रमका सहभागीहरूको भनाइ अनुसार, “पहिले नेताले बोलेर हामीले तालि बजाउँथ्यौं, तर यसपटक नेताहरूले नै तालि बजाएर युवाहरूको कुरा सुने,” भन्ने माहोल देखिएको थियो ।

कार्यक्रममा सम्पर्क समिति अध्यक्ष इराज राउतले भने, “परिस्थिति र समयअनुसार हामी चल्न सक्नुपर्छ, त्यसैले यो पटक हामीले जेन्जी पुस्ताका युवाहरूसँग प्रत्यक्ष अन्तरक्रिया गर्ने कार्यक्रम राख्यौं,” भन्दै नयाँ पुस्ताको सोच र सुझाव पार्टीका लागि मार्गदर्शक हुने विश्वास व्यक्त गरे ।
कार्यक्रममा १० जना भन्दा बढी जेन्जी युवाहरूले आफ्ना विचार र सुझाव प्रस्तुत गरेका थिए । उनीहरूले अहिलेको पुस्ताले अघि सारेका माग र माओवादी आन्दोलनले विगतमा उठाएका एजेन्डा एउटै विषयवस्तुमा केन्द्रित रहेको बताए । “हामीले माग्दै आएका हक, अधिकार र समानताको विषय माओवादी आन्दोलनको मूल एजेन्डा नै हो, त्यसैले हामी सबै माओवादीलाई आफ्नो अभिभावक ठान्छौं,” एक सहभागी युवाले भनेका थिए ।
कार्यक्रममा नेकपा (माओवादी केन्द्र) दोलखाका नेता विशाल खड्का, महेन्द्रबहादुर कार्की, नरबहादुर पाख्रिन, विजय मोक्तान, ज्योति श्रेष्ठलगायत दोलखाली समुदायको सक्रिय उपस्थिति रहेको थियो ।












