धनकुटा। कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कुमार कार्कीले प्रदेशका हिमाली र पहाडी जिल्लाका करिब ५०० माध्यमिक विद्यालयहरूको पूर्वाधार तथा सूचना प्रविधि आइसिटी निर्माण गर्ने महत्त्वाकांक्षी योजनाको घोषणा गर्नुभएको छ। आज धनकुटाको सहिद भूमि गाउँपालिकामा आयोजित कार्यक्रममा बोल्दै मुख्यमन्त्री कार्कीले यो कार्यक्रम खेतान फाउन्डेसन (सीपी फाउन्डेसन) को सहयोगमा १० वर्षभित्र सक्ने गरी अगाडि बढाइने जानकारी दिनुभयो।
मुख्यमन्त्री कार्कीले खेतान फाउन्डेसनले सहिद भूमि गाउँपालिका-६ मा निर्माण गरिदिएको ९२ लाख रुपैयाँ लागतको ठाकुरदेवी माध्यमिक विद्यालयको ८ कोठे भवनको उद्घाटन गर्नुहुँदै यो घोषणा गर्नुभएको हो। फाउन्डेसनले यस पालिकाका सबै विद्यालयलाई सूचना प्रविधि र कम्प्युटरसहितको पूर्वाधारयुक्त बनाउने प्रतिबद्धता पनि जनाएको छ।

मुख्यमन्त्री कार्कीले आफ्नो निर्वाचन क्षेत्रको सट्टा शहीदहरूको सम्मान र त्यस क्षेत्रको विकासका लागि सहिद भूमि पालिकामा विद्यालय निर्माणको कार्यक्रम लैजान सीपी फाउन्डेसनलाई आग्रह गरेको बताउनुभयो।
सीपी फाउन्डेसनले विभिन्न दातृ संस्थाको सहयोगमा कोशी प्रदेशका हिमाली तीन र पहाडी आठ जिल्लाका करिब ५०० विद्यालयमा पूर्वाधार र आइसिटी निर्माणका लागि यसै आर्थिक वर्षभित्रै समझदारी गर्ने तयारी छ। यसका लागि करिब १५ अरब रुपैयाँ लगानी गर्ने योजना बनाइएको छ। यो कार्यक्रम कोशी प्रदेश सरकार र स्थानीय पालिकाको साझेदारीमा अघि बढ्नेछ।
खेतान फाउन्डेसनका संस्थापक सीपी खेतानले यो सहयोगबाट कोशी प्रदेशको शैक्षिक सुधारमा ठूलो उपलब्धि हासिल हुने विश्वास व्यक्त गर्नुभयो। मुख्यमन्त्री कार्कीले प्रदेश र पालिकाको स्रोत साधनसमेत प्रयोग गर्नुपर्ने भएकाले यो ठूलो रकमको योजना १० वर्षभित्र सक्ने लक्ष्य राखिएको बताउनुभयो ।
यो कार्यक्रम सङै मुख्यमन्त्री कार्कीको पहलमा आज सहिद भूमि गाउँपालिका र सीपी फाउन्डेसनबीच पालिकालाई नमुना पालिका बनाउने गरी समझदारी पत्रमा हस्ताक्षर भएको छ। यस समझदारी अनुसार सहिद भूमि पालिकामा करिब २ देखि ३ अरब रुपैयाँ लगानी हुनेछ। यो लगानी सम्पूर्ण विद्यालय, स्वास्थ्य चौकी, लघु उद्यमशीलताका साथै सडक कालोपत्रे निर्माणमा प्रयोग गरिनेछ। यस कार्यक्रमका लागि ह्युमन प्राक्टिस फोरमले पनि मुख्य सहयोगीको भूमिका निर्वाह गर्नेछ।
खेतान फाउन्डेसन र ह्युमन प्राक्टिस फोरमबीच सहिद भूमि पालिकामा पहिलो चरणको विद्यालय पूर्वाधार निर्माणका लागि ३ अरब रुपैयाँ लगानी गर्ने गरी सहमति पत्रमा हस्ताक्षर समेत भएको छ।
सहिद भूमि गाउँपालिकाका अध्यक्ष मनोज राईले यो सम्झौताले २०३६ सालको खोकु छिन्ताङ हत्याकाण्डपछि पछि परेको धनकुटाको सहिद भूमि पालिकालाई विकास र समृद्धिका लागि नमुना पालिकाको रूपमा स्थापित गर्न महत्त्वपूर्ण भूमिका खेल्ने बताउनुभयो।












