काठमाडौँ । जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार ‘मोन्था’ नामक चक्रवातको प्रभावका कारण शनिबार बिहानसम्म देशका अधिकांश स्थानहरूमा वर्षा हुने अनुमान गरिएको छ।
महाशाखाकी प्रवक्ता विभूति पोखरेलका अनुसार कर्णाली र सुदूरपश्चिम प्रदेशमा छिटपुट वर्षा हुने, अन्य प्रदेशहरूमा मध्यम वर्षा हुने सम्भावना छ। उनले शनिबार बिहानपछि मात्र मौसम क्रमशः सुधार हुने बताइन्।
उनका अनुसार आगामी २४ घण्टाभित्र काठमाडौं उपत्यकासहित आसपासका क्षेत्रमा पनि वर्षा हुने सम्भावना छ, तर सबै ठाउँमा लगातार वर्षा नहुने स्पष्ट पारिन्।

त्यसैगरी, कोशी, वाग्मती, गण्डकी र कर्णाली प्रदेशका उच्च पहाडी र हिमाली भेगमा एक वा दुई स्थानमा भारी हिमपात हुने सम्भावना रहेको पोखरेलले जानकारी दिइन्।












