काठमाडौँ — सुशीला कार्की नेतृत्वको सरकारले असोज २० गते गरेको ११ देशका राजदूतहरू फिर्ता बोलाउने निर्णय कार्यान्वयन नगर्न सर्वोच्च अदालतले अन्तरिम आदेश जारी गरेको छ।

न्यायाधीश शारङ्गा सुवेदी र श्रीकान्त पौडेलको संयुक्त इजलासले आइतबार सो आदेश जारी गर्दै राजदूत फिर्ता गर्ने निर्णय तत्कालका लागि रोक्न सरकारलाई निर्देशन दिएको हो। उक्त निर्णयविरुद्ध तीनवटा रिट परेपछि सर्वोच्चले विस्तृत कारणसहित आदेश जारी गरेको हो।

अदालतले राजदूतहरूको पदावधि अझै बाँकी रहेको, फिर्ता बोलाउनुपर्ने ठोस कारण उल्लेख नभएको र खाली हुन लागेका पदमा नयाँ नियुक्ति प्रक्रिया सुरु नभएको जस्ता कारण देखाउँदै निर्णय कार्यान्वयन नगर्न आदेश दिएको हो।

अन्तरिम आदेशमा भनिएको छ, “मन्त्रिपरिषद्को मिति २०८२ असोज ३० गतेको निर्णय हाललाई कार्यान्वयन नगर्नु, नगराउनु र यथास्थितिमा राख्न विपक्षीहरूको नाममा सर्वोच्च अदालत नियमावली २०७४ को नियम ४९(९क) बमोजिम अन्तरिम आदेश जारी गरिन्छ।”

सर्वोच्चले कार्की नेतृत्वको सरकारलाई आफ्नो संवैधानिक दायित्व पनि सम्झाउँदै, आगामी ६ महिनाभित्र चुनाव सम्पन्न गराउने जिम्मेवारी पाएको अन्तरिम सरकारले राजदूत फिर्ता गर्ने जस्तो निर्णय लिन नहुने ठहर गरेको छ।

आदेशमा उल्लेख छ, “राष्ट्रपतिको कार्यालयले प्रतिनिधिसभा विघटनसँगै अन्तरिम सरकार गठन भएको र ६ महिनाभित्र नयाँ निर्वाचन सम्पन्न गर्ने संवैधानिक व्यवस्था रहेको स्पष्ट उल्लेख गरेको छ। यस्तो अवस्थामा तत्काल राजदूत पदपूर्ति सम्भव नभई पद रिक्त हुन सक्ने अवस्था देखिन्छ।”

अदालतले एकै मितिमा सिफारिस गरिएका १७ मध्ये ११ जना मात्र राजदूतहरूलाई फिर्ता बोलाउने निर्णयको औचित्य र आवश्यकता पुष्टि नभएको ठहर गर्दै सो निर्णयले नेपालको कूटनीतिक सम्बन्धमा समेत नकारात्मक असर पर्न सक्ने टिप्पणी गरेको छ।

यसअघि, कात्तिक ७ गते न्यायाधीश विनोद शर्माको एकल इजलासले सुनिल भट्टराई, लक्ष्मीप्रसाद रेग्मी र अधिवक्ता प्रतिभा उप्रेतिले दायर गरेका रिटमाथि सुनुवाइ गर्दै अन्तरिम आदेश छलफलका लागि आइतबारका लागि मिति तोकेको थियो।

फिर्ता बोलाइएका राजदूतहरूमा चीनका कृष्णप्रसाद ओली, जर्मनीका शैल रुपाखेती, इजरायलका धनप्रसाद पण्डित, मलेसियाका नेत्रप्रसाद तिमल्सिना, कतारका रमेशचन्द्र पौडेल, रुसका जंगबहादुर चौहान, साउदी अरबका नरेश विक्रम ढकाल, स्पेनका सनिल नेपाल, बेलायतका चन्द्रकुमार घिमिरे, अमेरिकाका लोकदर्शन रेग्मी र जापानका डा. दुर्गाबहादुर सुवेदी रहेका छन्।

News By- Vishu Gurung ( Member of Federation of nepali Journalists, Lalitpur)

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय