धनकुटा । धनकुटा नगरपालिकामा वाडांमेट– कोप्चे फेस्टिवल सुरु भएको छ । बुधबार पत्रकार सम्मेलन गर्दै धनकुटा नगरपालिकाले धनकुटामा बसोबास गर्ने आठपहरिया जातिको मौलिक पर्व वाडांमेट को अवसरमा स्थानीय संस्कृति, धर्म र पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले फेस्टिवल आयोजना गरिएको जानकारी दिएको हो ।

नगर प्रमुख चिन्तन तामाङ का अनुसार फेस्टिवल कात्तिक १९ गतेदेखि २४ गतेसम्म सञ्चालन हुनेछ । उक्त फेस्टिवल धनकुटा नगरपालिका, नेपाल पर्यटन बोर्ड, ICMOD, स्थानीय संघ–संस्था र समुदायहरूको संयुक्त प्रयासमा आयोजना गरिएको हो ।

मेयर तामाङले धनकुटा नगरपालिका प्राकृतिक सौन्दर्य, सांस्कृतिक विविधता र सामुदायिक एकताको अद्भुत संयोजन भएको सुन्दर र सफा शहर रहेको बताउँदै पछिल्लो समय जलवायु परिवर्तनका चुनौतीहरू विशेषगरी ‘too little water’ को समस्या देखिएको बताए । उनले भने,

“हामीले पर्यटनलाई केवल आर्थिक उपार्जनको माध्यम मात्र होइन, जलवायु अनुकूलन, सम्पदाको पुनरुत्थान र जिम्मेवार पर्यटनको रूपमा अघि बढाउने निर्णय गरेका छौं।”

उनका अनुसार, सम्पदा पुनरुत्थान र सांस्कृतिक पहिचान अन्तर्गत वाडांमेट (आठपहरिया) र  कोप्चे (नेवार) परम्पराको पुनर्जागरण गराउने अपेक्षा गरिएको छ । यसले स्थानीय कला, संगीत र संस्कृतिको संरक्षणमा समुदायको नेतृत्व र सहभागिता सुदृढ गर्ने विश्वास व्यक्त गरिएको छ ।

हाल धनकुटा नगरपालिकामा अस्ट्रेलिया एआईडी, इसिमोड, नेपाल पर्यटन बोर्ड, स्मार्टपेन चेन हुसाडेक, दिगो विकास संस्था, आठपहरिया समाज, कोप्चे पुनर्जागरण अभियान र ओरेन्ज सिटी लगायतका संस्थासँग सहकार्यमा विभिन्न गतिविधिहरू सञ्चालन भइरहेका छन् ।

फेस्टिवल अवधिभर होमस्टे अवलोकन, पर्यटकीय सम्भावना अध्ययन, पानीको मुहान व्यवस्थापन, आठपहरिया संस्कार–संस्कृति सम्बन्धी कार्यक्रमहरू सञ्चालन गरिनेछ । साथै भारत र नेपालका पर्यटन संस्था तथा राष्ट्रिय–अन्तर्राष्ट्रिय पत्रकारहरूले धनकुटाको पर्यटन र सांस्कृतिक क्षेत्रबारे अध्ययन र प्रचारप्रसार गर्ने अवसर पाउने छन् ।

फेस्टिवलको मुख्य दिन कोप्चे ओरेन्ज सिटीमा आठपहरिया समुदायका सांस्कृतिक कार्यक्रमहरू प्रस्तुत गरिने आयोजकले जनाएको छ ।

पत्रकार सम्मेलन पत्रकार महासंघ धनकुटाका अध्यक्ष विदुर खवासको प्रमुख आतिथ्यमा सम्पन्न भएको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय