ललितपुर, ३ मंसिर: बागमती प्रदेशभरिका जिल्ला जनस्वास्थ्य कार्यालयहरुमध्ये ललितपुर उत्कृष्ट भएको छ । यही कातिक २९ गतेदेखि मंसिर २ गतेसम्म प्रदेश स्वास्थ्य निर्देशनालय हेटौंडामा भएको बार्षिक समीक्षा कार्यक्रममा आज ललितपुरले प्रथम हासिल गरेकाे प्रमाणपत्र पाएकाे जिल्ला जनस्वास्थ्य कार्यालयका निमित्त प्रमुख दीपा पाण्डेले जानकारी दिनुभयो । बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले मंगलबार हेटौंडामा आयोजित कार्यक्रममा जिल्ला जनस्वास्थ्य कार्यालय ललितपुरका खोप अधिकृत राजाराम कार्कीलाई प्रमाणपत्र हस्तान्तरण गर्नुभएको निमित्त प्रमुख पाण्डेले जानकारी दिनुभयो।
“आ.व. २०८१/८२ मा सम्पादित स्वास्थ्य कार्यक्रमहरूको प्रदेश स्तरीय वार्षिक समीक्षा कार्यक्रममा स्वास्थ्य सेवाका सूचकहरू तथा
प्रस्तुतीकरण समेतको मूल्यांकनको आधारमा प्रदेश स्वास्थ्य निर्देशनालयले पुरस्कृत गरेको हाे।” निमित्त प्रमुख पाण्डेले भन्नुभयो ।
जिल्ला जनस्वास्थ्य कार्यालय ललितपुर गत वर्ष पनि बागमती प्रदेशभरिमा उत्कृष्ट हुन सफल भएको थियो।
त्यस्तै अस्पतालतर्फ भक्तपुर अस्पताल प्रथम, नुवाकोटको त्रिसुली अस्पताल दोस्रो र सिन्धुपाल्चोकको चौतारा अस्पताल तेस्रो हुन सफल भए।
आयुर्वेद तथा वैकल्पिक चिकित्सालयतर्फ सिन्धुली प्रथम, नुवाकोट दोस्रो र चितवन तेस्रो हुन सफल भएको जिल्ला जनस्वास्थ्य कार्यालय ललितपुरका निमित्त प्रमुख दीपा पाण्डेले जानकारी दिनुभयो।
जिल्ला जनस्वास्थ्य कार्यालय ललितपुरका निवर्तमान कार्यालय प्रमुख डाक्टर भुवन पौडेलले जिल्लामा सञ्चालनमा रहेका निजी तथा सरकारी अस्पतालहरु संगको प्रभावकारी समन्वय र सहकार्यले नै यो उपलब्धि हासिल भएको वताउनुभयो।—












