काठमाडौँ – नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली तेस्रो कार्यकालका लागि पार्टी अध्यक्षमा निर्वाचित भएका छन्। पार्टीको महाधिवेशन अन्तर्गत सम्पन्न निर्वाचनमा उनले अध्यक्षका प्रत्यासी ईश्वर पोखरेललाई पराजित गर्दै पुनः नेतृत्व सम्हाल्ने अवसर प्राप्त गरेका हुन्।

निर्वाचन समितिका अनुसार कुल २ हजार २ सय ६२ प्रतिनिधिमध्ये २ हजार २ सय २७ प्रतिनिधिले मतदानमा भाग लिएका थिए। उक्त मतदानबाट अध्यक्ष ओलीले १ हजार ६६३ मत प्राप्त गरे भने उनका प्रतिद्वन्द्वी ईश्वर पोखरेलले ५६४ मतमा सीमित भए। यसरी ओलीले स्पष्ट बहुमतसहित विजय हासिल गरेका छन्।

तेस्रो कार्यकालका लागि अध्यक्षमा निर्वाचित भएसँगै ओलीले पार्टीलाई थप सुदृढ बनाउने, संगठनात्मक एकता मजबुत पार्ने र आगामी राजनीतिक चुनौतीहरूलाई सामना गर्ने प्रतिबद्धता जनाएका छन्। उनले पार्टीलाई राष्ट्रिय राजनीतिमा निर्णायक शक्तिका रूपमा स्थापित गर्न आफू प्रतिबद्ध रहेको बताएका छन्।

निर्वाचन परिणामले पार्टीभित्र ओलीको प्रभावशाली पकड कायमै रहेको देखाएको छ। विश्लेषकहरूका अनुसार यो जितले एमालेभित्र नेतृत्वको निरन्तरता मात्र होइन, भावी राजनीतिक रणनीतिमा समेत ओलीको निर्णायक भूमिका रहने संकेत गरेको छ।

अध्यक्ष पदको प्रतिस्पर्धामा पराजित भए पनि ईश्वर पोखरेलले पार्टी एकता र सामूहिक नेतृत्वमा आफू सधैं साथ रहने प्रतिक्रिया दिएका छन्। महाधिवेशनमार्फत नेतृत्व चयन भएपछि एमाले आगामी दिनमा संगठन विस्तार, सरकार र प्रतिपक्षी भूमिकामा सक्रिय तयारीमा जुट्ने अपेक्षा गरिएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय