माधवप्रसाद घिमिरे/ललितपुर, पुस: पुस ८ गते नेपाली प्रजातान्त्रिक आन्दोलनका सन्त नेता, पूर्वप्रधानमन्त्री एवम् नेपाली कांग्रेसका पूर्वसभापति कृष्णप्रसाद भट्टराई ‘किसुनजी’को १०२औँ जन्मजयन्ती हो। लोकतन्त्रका लागि जीवन समर्पण गरेका, सादा जीवन र उच्च विचारका प्रतीक मानिने किसुनजीको जन्मजयन्तीमा उहाँको योगदान, सादगीपन, उहाँले देखाएको बाटोका बिषयमा चर्चा गर्ने दिन हो।
सिन्धुलीबाट २०५१ सालमा निर्वाचित सांसद प्राध्यापक होमराज दाहाल र पंक्तिकार मंगलबार दिउँसो २ बजेर २४ मिनेटमा ललितपुरको बाँडेगाउँस्थित भट्टराई आश्रम पुग्दा सुनसान थियोे, हरेक बर्ष किसुनजीको जन्मजयन्ती र स्मृति दिवसका दिन देशका विशिष्ठ व्यक्तित्वहरुको उपस्थिति रहने आश्रम पुग्दा दृश्य स्तब्ध पार्ने खालको परिस्थिति थियो। वर्षौँसम्म किसुनजीको स्मरणमा फागुन २० गते औपचारिक–अनौपचारिक कार्यक्रम हुने यही आश्रमको गेट बन्द थियो। ताला लगाउने ठाउँमा बेरिएको तार, आश्रम बाहिर र भित्र जेजजेडले जलाइदिएका भग्नावशेष दुईवटा सवारीसाधन, किसुनजीको शालिक विहिन आँगन, सिसा फुटाइएका झ्याल, ट्रष्ट फ्याकिएको कार्यक्रम स्थल, यो स्थान केवल सुनसान थियो, मानौँ समय आफैँ यहाँ आएर रोकिएको हो।
भदौ २४ गते भएको जेन–जेड समूहको विध्वंसात्मक गतिविधिपछि यो आश्रम आज ‘भूतबंगला’ जस्तै बनेको छ। आश्रम अगाडि रहेको किसुनजीको शालिक तोडफोड गरी नष्ट गरिएको छ। लोकतन्त्रका लागि जेल जीवन बिताएका, सत्ता होइन सिद्धान्त रोजेका नेताको स्मृतिस्थलको यो हालतले राजनीतिक, ऐतिहासिक चेत भएको मानिसलाई भावविह्वल बनाउने खालको थियोे।
वि.सं. १९८१ पौष कृष्ण द्वादशीका दिन भारतको बनारसमा जन्मिएका कृष्णप्रसाद भट्टराईको जीवन आफैँमा नेपालको आधुनिक राजनीतिक इतिहास हो भन्नुहुन्छ पूर्वसांसद प्राध्यापक होमराज दाहाल।
“राणा प्रधानमन्त्री वीर शम्शेरको वक्रदृष्टिका कारण परिवार बनारस निर्वासित हुनुपरेको थियो, त्यही परिवेशले उहाँलाई राजनीतितर्फ डोहोर्यायो, सन् १९४२ को ‘अंग्रेज भारत छोडो’ आन्दोलनमा सक्रिय सहभागी बनेर पहिलो पटक जेल परेका भट्टराई विद्यार्थी जीवनदेखि नै राजनीतिक चेतनाका संवाहक हुनुहुन्थ्यो।” प्राध्यापक दाहालले भन्नुभयो।
बनारस हिन्दू विश्वविद्यालयमा अध्ययनरत रहँदा नेपाल छात्र संघको उपाध्यक्ष बनेर नेपाली युवामा राजनीतिक जागरण फैलाउनु भएका सन्तनेता वि.सं. २००३ मा अखिल भारतीय नेपाली राष्ट्रिय कांग्रेस गठन हुँदा महामन्त्री बन्नुभएको थियो। पछि नेपाली राष्ट्रिय कांग्रेस र नेपाल प्रजातन्त्र कांग्रेस एकीकरण भएर बनेको नेपाली कांग्रेसका सहमहामन्त्री हुनुभएको बताउनुहुन्छ प्रध्यापक दाहाल।
२००७ सालको सशस्त्र क्रान्तिमा जनकपुर–उदयपुर कब्जा गर्ने मुक्ति सेनाका कमाण्डरका रूपमा उनको भूमिका इतिहासमा दर्ज छ।
वि.सं. २०१७ साल पुस १ गते राजा महेन्द्रको ‘कू’ पछि थापाथलीबाट बीपी कोइरालासँगै पक्राउ परेका भट्टराईले लगातार १० वर्ष जेल जीवन बिताउनुभएको थियोे। जीवनभर गरेर १४ वर्षभन्दा बढी समय जेलमै बिताएका उहाँले निर्वासन कहिल्यै रोज्नुभएन भन्नुहुन्छ प्राध्यापक दाहाल।
अहिंसात्मक आन्दोलनबाटै प्रजातन्त्र सम्भव छ भन्ने दृढ विश्वास सन्तनेताको राजनीतिक कर्मको मूल आधार थियो।
जेलबाट मुक्त भएको केही समयमै २०२७ वैशाख ६ गते नेपाल विद्यार्थी संघको स्थापना समारोह उद्घाटन गरेर विद्यार्थी आन्दोलनलाई ऊर्जा दिनुभएका भट्टराईलाई २०३४ को पटना सम्मेलनपछि बीपी कोइरालाले स्वास्थ्य कारण देखाउँदै कांग्रेसको कार्यवाहक सभापतिको जिम्मेवारी दिनुभएको बताउनुहुन्छ पूर्वमन्त्री एवम् नेपाली कांग्रेसका नेता ओमकारप्रसाद श्रेष्ठ।
“बीपीको निधनपछि पनि करिब डेढ दशकसम्म किसुनजीले कार्यवाहक सभापतिकै रूपमा पार्टीको नेतृत्व गर्नुभयो, जनआन्दोलनका सभापति, २०४७ मा अन्तरिम प्रधानमन्त्री
२०४६ को जनआन्दोलन घोषणासभा,क्षेत्रपाटी सम्मेलनको सभापतित्व किसुनजीले नै गर्नुभएको थियो। आन्दोलन सफल भएपछि एक वर्षभित्र संविधान निर्माण र निर्वाचन सम्पन्न गर्ने जिम्मेवारी सफलतापूर्वक पूरा गरेर उहाँले सत्ता होइन दायित्व प्राथमिकतामा राख्ने उदाहरण प्रस्तुत गर्नुभयो।” पूर्वमन्त्री श्रेष्ठले भन्नुभयो।
विडम्बना, आफू प्रधानमन्त्री हुँदा गराएको २०४८ को निर्वाचनमा उनी स्वयं पराजित हुनुभयो। २०१५ मा गोर्खा र २०५१ मा काठमाडौँ क्षेत्र नं. १ बाट पनि पराजय भोग्नुभयो। तर पराजयले पनि उहाँको राजनीतिक उचाइ घटेन, बरु सन्त नेताको छवि झन प्रखर बनायो।
कृष्णप्रसाद भट्टराई आजीवन अविवाहित रहनुभयो। प्रधानमन्त्रीबाट राजिनामा दिएर बाहिरिँदा छाता र कमण्डलु बोकेर हिँड्नु भएको उहाँको जीवनशैली राजनीतिमा दुर्लभ मानिन्छ। २०४८ को निर्वाचनमा पराजित भएपछि बालुवाटार छोडेर छाता हातमै लिएर पैदल निस्किएको दृश्य आज पनि राजनीतिक नैतिकताको प्रतीकझैँ सम्झिन्छन् धेरैले।
२०६७ फागुन २० गते राति ११ बजेर २६ मिनेटमा काठमाडौँको नर्भिक अन्तर्राष्ट्रिय अस्पतालमा उहाँको निधन भयो। फागुन २१ गते पशुपति आर्यघाटमा राजकीय सम्मानका साथ अन्त्येष्टि गरियो।
आज,किसुनजीको १०२औँ जन्मजयन्तीमा, बाँडेगाउँस्थित भट्टराई आश्रमको जर्जर अवस्था केवल एउटा स्थल मात्रै हैन, त्याग र निष्ठाको राजनीतिक सन्देश दिने धाम हो आज त्यही धाम बेवारिसे बनेको छ। सिद्धान्तका लागि जीवन अर्पण गर्ने नेताको स्मृतिस्थल यसरी उपेक्षित हुनु लोकतन्त्रप्रतिको हाम्रो जिम्मेवारीमाथि नै बेवास्ता र तिरस्कार हो भन्ने भान हुन्छ।
किसुनजी आज हुनुहुन्न, तर उहँका सादगी, इमानदारी र लोकतान्त्रिक आस्थाप्रतिका मूल्य र मान्यताहरु झन खड्किएको अवस्था छ।—












