ललितपुर,११ पुस:नेपाली कांग्रेसका उपसभापति धनराज गुरुङले अझैसम्म पनि निर्वाचनको वातावरण बन्न सकेको छैन भन्ने प्रतिक्रिया दिनुभएको छ।
नेपाली कांग्रेसको बुधबारबाट सुरु भएको केन्द्रीय कार्यसम्पादन समितिको बैठकमा सहभागी हुने क्रममा पार्टीको केन्द्रीय कार्यालय सानेपामा सञ्चारकर्मीहरुलाई प्रतिक्रिया दिदै सरकार पक्षबाट निर्वाचनको वातावरण बनाउन नसकेको कारण संसद पुनःस्थापनाको आवाज उठेको हो भन्नुभयो।
“कार्यसम्पादन वैठक आज पनि बस्दै छ, कार्यसम्पादन वैठकले संसदीय बोर्ड र समानुपातिक सूची लगायतका बिषयमा उचित निकास देला, केही दिन अगाडि सरकारले दलहरूलाई बेवास्ता गरेर जेनजेडसंगको दश बुँदा सहमति गरेको छ, यसले पनि संसय पैदा भएको छ।” उहाँले भन्नुभयो।
उपसभापति गुरुङले निर्वाचन स्वच्छ धाँधलीरहित र निष्पक्ष हुने भएमा निर्वाचन नै अन्तिम विकल्प रहेको धारणा राख्नुभयो।
“सबै मिलेर जानुपर्छ, निर्वाचन निर्विवाद रुपमा हुनुपर्छ, सरकारले फागुन २१ गतेको निर्वाचनलाई अर्जुन दृष्टि राख्नुपर्छ, निर्वाचनमा सबैसंगै मिलेर जाने वातावरण बनोस, दलहरूलाई तिरस्कार गरेर चुनव हुन सक्दैन, जेन जेड र सरकारीच भएको १० बुँदे सम्झौताले राज्यमा सुशासन र शान्ति सूरक्षाको प्रत्याभूत गर्ने अवस्था छैन, अहिलेको परिस्थिति अनुसार निर्वाचन शान्तिपूर्ण हुन्छ भन्ने कुनै प्रत्याभूति छैन,सरकारले बाताबरण बनाउनुपर्छ, कुनै पनि पार्टीलाई निर्वाचनको यात्रामा रोकिनु हुँदैन।” उपसभापति गुरुङले भन्नुभयो।
उपसभापति गुरुङले फागुन २१ को निर्वाचन आउन धेरै बाँकी छैन भन्दै यसका लागि सरकारले उचित वातावरण बनाउनुपर्छ भन्नुभयो।
“अहिले चुनाव गराउन नदिने र चुनाव गराउनेबीच जुहारी चलिरहेको छ, सरकारले गम्भीरतापूर्वक ध्यान दिनुपर्छ, प्रधानमन्त्रीले भनेको जेठो छोरा नै चुनाव हुन दिन्न भन्दै छ, यसले आशंका पैदा गरेको छ,चित्तबुझ्दो बाताबरण बनाउनुपर्छ, पुरानो र नयाँ भनेर विभाजन गर्ने काम हुनु हुँदैन।” उहाँले भन्नुभयो।
सानेपामा जारी कांग्रेस केन्द्रीय कार्यसम्पादन समिति वैठकमा पार्टीका पदाधिकारीहरु सहित पूर्वगृहमन्त्री रमेश लेखक समेत सहभागी हुनुहुन्छ।—












