सिन्धुपाल्चोक, पुस: नेपाली कांग्रेसका केन्द्रीय सदस्य, पूर्वमन्त्री एवम् सिन्धुपाल्चोक क्षेत्र नं. १ का लागि पार्टीकातर्फबाट सिफारिस उम्मेदवार मोहनबहादुर बस्नेतले निर्वाचनबाट मात्रै देशमा राजनीतिक निकास सम्भव छ भन्नुभएको छ।

नेपाली कांग्रेस सिन्धुपाल्चोक क्षेत्र नं. १ द्वारा शुक्रबार बाह्रबिसेमा आयोजित बृहत चुनाव तयारी सभामा मन्तव्य राख्नुहुँदै पूर्वमन्त्री एवम्  सिफारिस उम्मेदवार बस्नेतले राजनीतिक परिवर्तनका लागि सधैं निर्णायक भूमिकामा रहेको कांग्रेसले फागुन २१ गते हुने निर्वाचनलाई आत्मसात गरेको छ भन्दै सरकारले निर्वाचनको वातावरण बनाउनुपर्नेमा जोड दिनुभयो।
“जेनजेड आन्दोलनपछि मुलुक जटिल परिस्थितिमा छ, सरकार आफै निर्वाचन गराउने परिस्थितिमा पुग्न सकेको छैन, दिग्भ्रमित भएको छ।” उहाँले भन्नुभयो।
उहाँले राजनीतिमा उमेरभन्दा पनि क्रियाशीलता महत्त्वपूर्ण हुने भन्दै जनतालाई आवश्यक पर्दा हराउनेहरु युवा नै नेता भएपनि केही हुँदैन भन्नुभयो।
“मैले काँग्रेसको राजनीति गरेको ४९ वर्ष भएछ, म मन्त्री हुँदा ३९ वटा स्वास्थ्य चौकी बनाएको छु, प्रदेशबाट पनि योजना परेको छ, यो जिल्लााा सबैको समस्यामा म क्रियाशील हुनेछु।” उहाँले भन्नुभयो।
उहाँले नेपालको संविधानले शिक्षा र स्वास्थ नागरिकको मौलिक हक भनेको भन्दै सबै नागरिकलाई निशुल्क व्यवस्था गर्नुपर्नेमा जोड दिनुभयो।
उहाँले आगामी निर्वाचनपछि देशमा सरकार जो होस्, सिन्धुपाल्चोकमा नेपाली कांग्रेसकै सरकार हुनेछ भन्नुभयो।
“हरेकका विपत्तिमा हामी जनताको घरदैलोमा पुगेका छौँ, विदेशबाट कोरोना भ्याक्सिन ल्याएर पनि उपचारको व्यवस्था गरेका छौँ, जिल्लामा नेपाली कांग्रेस पहिलोस्थानमा रहेको छ, हरेक तहमा एकलौटी बर्चस्व रहेको छ, गठबन्धन भएका कारण अरुले हामीबाट फाइदा लिएका हुन्।” उहाँले भन्नुभयो।

पूर्वमन्त्री बस्नेतले जेनजेड आन्दोलनबाट मुलुकले ठूलो क्षति व्यहोर्नुपरेको परेको छ भन्दै आन्दोलनमा विभिन्न शक्ति केन्द्रकोे स्वार्थ र घुसपैठले देशमा हिंसात्मक घटना घटेको बताउनुभयो।
“देशको झण्डा ओडेर हिंसात्मक घटना र आगजनी भएको छ, भदौ २४ गतेको आन्दोलनमा विभिन्न राजनीतिक दलहरुको संग्लग्नता रहेको छ, जेनजेडको नामामा लुटपाट र आगजनी गर्ने काम भएको छ, सिन्धुपाल्चोककै छन्, उचित समयमा तिनीहरुको नाम सार्वजनिक हुन्छ, घर र सम्पत्तिमा आगो लगाउँदैमा राजनीतिक चेत मर्दैन।” उहाँले भन्नुभयो।
पदमा पुगेका नेताले भोलि वा जितेपछि काम गर्छु भनेर हुँदैन भन्दै उहाँले बिगतमा गरेको कामलाई हेरेर मतदान गर्न आग्रह गर्नुभयो।

बागमती प्रदेश कार्यसमिति सदस्य एवम् पूर्वप्रदेश मन्त्री मसिना खड्का भण्डारीले जेनजेड आन्दोलनका कारण २०८४ सालमा हुनुपर्ने निर्वाचन २०८२ फागुनमा सरेको बताउँदै आगामी निर्वाचनमा नेपाली कांग्रेसका उम्मेदवारलाई बिजयी गराउँदै विकास र समृद्धिका लागि काम गर्ने अवसर प्रदान गर्न आग्रह गर्नुभयो। उहाँले कोरोनाको महामारीको समयमा समेत मोहनबहादुर बस्नेतले उत्कृष्ट काम गरेको बताउँदै सबैलाई मिलाएर लैजान सक्ने क्षमता उहाँमा भएको धारणा राख्नुभयो।

पार्टीका जिल्ला उपसभापति टंक कार्कीले नेपाली कांग्रेसले मात्रै देशलाई विकास र निकास दिने भन्दै सिन्धुपाल्चोकमा पार्टीले धेरै राम्रा र सकरात्मक काम गरेको जानकारी गराउनुभयो। उहाँले जनताका हरेक समस्या समाधानमा पार्टीका केन्द्रीय सदस्य एवम् प्रतिनिधि सभाका लागि सिफारिस उम्मेदवार मोहनबहादुर बस्नेतले ध्यान दिएर काम गरेको जानकारी गराउनुभयो।

पार्टीका जिल्ला सचिव भक्तध्वज बोहराले फागुन २१ गतेको लागि घोषणा भएको निर्वाचनका लागि देशभर नेपाली कांग्रेसको हुने सभामध्ये यो पहिलो सभा भएको बताउँदै जहिले चुनाव भएपनि पार्टी तयार रहेको बताउनुभयो। उहाँले निर्वाचनमा हर र जीत भन्दा पनि जनताप्रतिको विस्वासलाई पार्टीले पहिलो प्राथमिकतामा राखेको बताउनुभयो।

प्रतिनिधिसभातर्फ समानुपातिक उम्मेदवा एवम् महासमिति सदस्य डाक्टर प्रेमध्वज लामाले नेपाली कांग्रेसले मुलुकलाई शान्ति र समृद्धिको बाटोमा डोहोर्याउँदै अगाडि बढाउने बताउनुभयो। उहाँले प्रहरी विद्यार्थीमाथि आक्रमण गरेर, अशान्ति फैल्याएर मुलुकमा सुशासन, स्थायित्व र स्थिरता नहुने भन्दै मुलुकको परिवर्तनका लागि हुने चुनवका लागि नेपाली कांग्रेसको यो पहिलो चुनावी सभा भएको बताउनुभयो।
प्रतिनिधिसभातर्फ समानुपातिक उम्मेदवार यास्मिन ढुंगानाले ‘स्टन्ट’ र गालिगौचभन्दा जनताले चाहेअनुसारको विकास गर्नका लागि नेपाली कांग्रेसको नेतृत्व र नेपाली कांग्रेसबाट जित हासिल गरेका व्यक्तित्वहरुले राम्रो काम गरिरहेको बताउँदै जनताप्रति गरेको काम महत्त्वपूर्ण भएको बताउनुभयो। उहाँले जनताको सेवा र सुविधाको लागि राजनीतिमा क्रियाशील भएर लाग्ने बताउनुभयो।

प्रतिनिधिसभाका लागि सिफारिस समानुपातिक उम्मेदवार एवम् पार्टीका उपसभापति दोर्जे लामाले देशलाई एकताबद्ध बनाउँदै निकास दिने काममा नेपाली कांग्रेसले मात्रै योगदान गर्न सक्ने बताउँदै आगामी दिनमा नेपाली कांग्रेस एक ढिक्का भएर जाँदा अत्याधिक मतले निर्वाचन जित्न सक्ने धारणा राख्नुभयो।

नेपाली कांग्रेसका पूर्व जिल्ला सभापति भूपेन्द्रबहादुर थापाले निरंकुश व्यवस्थाका विरुद्ध आवाज उठाउँदै जनताको लागि आवाज उठाउन कांग्रेस पार्टीको स्थापना भएको जानकारी गराउँदै कांग्रेसले जनतालाई अधिकारसम्पन्न बनाउने कुरामा महत्त्वपूर्ण योगदान गरेको बताउनुभयो। नेपाली कांग्रेसले देशका जनताको समस्या समाधानका साथै निजी क्षेत्रलाई विस्वासमा लिएर रोजगारी सृजना गर्दै विकास र समृद्धिमा योगदान दिएको धारणा राख्नुभयो।

राष्ट्रियसभाका लागि सिफारिस उम्मेदवार एवम् महासमिति सदस्य भोला बोहराले नेपाली कांग्रेसलाई मतदान गरेवापत जनताले अनावश्यक दु:ख पाउनु नपर्ने भन्दै कांग्रेस जनताको शान्ति सुरक्षाको पक्षधर भएको बताउनुभयो।

सिन्धुपाल्चोक क्षेत्र नं. २ का सचिव विष्णु घोरासैनीले जिल्लाको मात्रै नभै देशको विकासकालागि मोहनबहादुर बस्नेतले पुर्‍याएको योगदान महत्त्वपूर्ण भएको भन्दै आगामी दिनहरुमा यस जिल्लाले स्पष्ट बहुमत दिएर विजयी गराउने बताउनुभयो।

मेलम्ची नगरपालिकाका सभापति बसन्त गुरुङले सिन्धुपाल्चोक जिल्लामा जनतालाई समस्या पर्दा, बाढिपहिरो आउँदा, कोरोनाको समयमा समस्या पर्दा समेत मोहनबहादुर बस्नेतले साथ र सहयोग गरेको जानकारी गराउँदै जहिले चुनाव भएपनि अत्याधिक मत दिएर विजयी बनाउने बताउनुभयो। उहाँले राजनीतिका नाममा आतंक मच्चाउनेलाई जनताले मत नदिने भन्दै शान्ति, सुरक्षा, सम्पतिमाथिको संरक्षण र विकास नागरिकले चाहेको बताउनुभयो।

बलेफी गाउँपलिकाका पूर्वअध्यक्ष केदार क्षेत्रीले सिन्धुपाल्चोक जिल्लाको शिक्षा, स्वास्थ्य र विपदको समयमा सहयोग गर्नेक्रममा सधैं अब्बल रहनुभएको बताउनुभयो।
महिला संघको केन्द्रीय सदस्य मञ्जु नेपाल भण्डारीले सिन्धुपाल्चोक जिल्लामा पार्टीलाई चलायमान बनाउँदै स्थानीय विकासका लागि योग्य उम्मेदवारलाई जिताउनु पर्नेमा जोड दिनुभयो। उहाँले क्षणिक व्यक्तिगत लाभभन्दा पनि देशको हीतका लागि काम गर्नसक्ने व्यक्तित्वलाई विजय गराउन सक्नुपर्नेमा जोड दिनुभयो।
क्षेत्र नं. १ का सचिव सञ्चवीर तामाङले विगतमा गठबन्धन गर्दा पार्टी र स्थानीयहरुलाई समस्या परेको बताउनुभयो।
त्यस्तै कार्यक्रममा बाह्रबिसे नगरपालिका वडा नं. र बलेफी गाउँपालिका वडा नं. ५ बाट विभिन्न व्यक्तित्वहरु नेपाली कांग्रेसमा प्रवेश गरेका छन्।—

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय