गोवा — भारतको पश्चिमी तटमा अवस्थित गोवा ऐतिहासिक, सांस्कृतिक र प्राकृतिक सौन्दर्यका कारण आन्तरिक तथा अन्तर्राष्ट्रिय पर्यटकहरूको प्रमुख गन्तव्य बनेको छ। पुर्तगाली शासनको करिब साढे चार सय वर्षे इतिहासले यहाँको जीवनशैली, वास्तुकला र धार्मिक संरचनामा गहिरो प्रभाव छोडेको देखिन्छ।

गोवामा कोकणी संस्कृति र पुर्तगाली सभ्यताको मिश्रण स्पष्ट देखिन्छ। राजधानी पानजिमको पुरानो सहर (फोंटेनहास) क्षेत्रमा अझै पनि पुर्तगाली शैलीका रंगीन घर, साँघुरा गल्ली र ऐतिहासिक संरचनाहरू संरक्षण गरिएको छ। यहाँ अवस्थित क्याथोलिक चर्चहरू—बासिलिका अफ बम जीसस, से क्याथेड्रल, अवर लेडी अफ द इम्याकुलेट कन्सेप्सन—धार्मिक आस्थासँगै पर्यटकीय आकर्षणका रूपमा स्थापित छन्।

गोवाका उत्तर र दक्षिण दुवै भागका समुद्रकिनार पर्यटकका लागि प्रमुख आकर्षण हुन्। उत्तर गोवाका बागा, क्यालाङ्गुट र अञ्जुना समुद्रकिनार चहलपहल र मनोरञ्जनका लागि चर्चित छन् भने दक्षिण गोवाका कोल्वा, बेनौलिम र पालोलेम शान्त वातावरण र स्वच्छ निलो समुद्रका कारण परिवारसहित घुम्न चाहने पर्यटकको रोजाइमा पर्दै आएका छन्।

स्थानीय खानामा गोवाको समुद्री परिकार विशेष लोकप्रिय छन्। ताजा माछा, प्राउन, क्र्याब र स्थानीय मसालामा तयार गरिने सी–फुड स्वादका हिसाबले उत्कृष्ट मानिन्छ। तर मूल्यका दृष्टिले यी परिकार थाइल्याण्डजस्ता अन्य पर्यटकीय गन्तव्यको तुलनामा महँगा रहेको पर्यटकहरूको गुनासो छ।

यातायात व्यवस्थापन पनि गोवाको अर्को चुनौतीका रूपमा देखिएको छ। यहाँ ट्याक्सी भाडा महँगो छ र थाइल्याण्डमा जस्तै मोबाइल एपमार्फत सञ्चालन हुने किफायती ट्याक्सी सेवा उपलब्ध छैन। छोटो दूरीमा पनि उच्च भाडा तिर्नु पर्ने अवस्थाले पर्यटकलाई असहज बनाउने गरेको छ। होटल र खानपानको लागतसमेत अपेक्षाकृत उच्च रहेको बताइन्छ।

गोवामा विदेशी पर्यटकको बाक्लो उपस्थिति देखिन्छ। साथै, नेपाली नागरिकहरू पनि होटल, रेस्टुरेन्ट तथा पर्यटन सेवामा उल्लेख्य रूपमा कार्यरत छन्। उनीहरूले स्थानीय पर्यटन उद्योगलाई सहयोग पुर्‍याइरहेका छन्।

पर्यटन विज्ञहरूका अनुसार बजेट यात्रुका लागि थाइल्याण्ड होटल, यातायात र खानाका हिसाबले अझै सस्तो गन्तव्य देखिन्छ। यद्यपि, भारतभित्रै पुर्तगाली संस्कृति, पुरानो सहर पानजिम, ऐतिहासिक चर्चहरू र समुद्रको सौन्दर्य अनुभव गर्न चाहने पर्यटकका लागि गोवा विशिष्ट गन्तव्यका रूपमा कायम छ।

महँगो खर्च भए पनि इतिहास, संस्कृति र समुद्रको संयोजन हेर्न चाहनेहरूका लागि गोवा अझै पनि फरक र सम्झनलायक अनुभव दिने स्थल बनेको छ।

News By: Vishu Gurung (Member, FNJ Lalitpur)


 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय