काठमाडौं । “घिसिङ एकता आजको आवश्यकता” भन्ने मूल नाराका साथ नेपाल घिसिङ समाज केन्द्रीय कार्यसमितिले यही माघ ३ गते २०८२ शनिबारका दिन सोनाम ल्होछार शुभकामना आदान–प्रदान कार्यक्रम आयोजना गर्ने भएको छ।
घिसिङ समुदायबीच आपसी एकता, सहकार्य तथा बंश उत्थानको उद्देश्यले कार्यक्रम आयोजना गर्न लागिएको नेपाल घिसिङ समाजका महासचिव दिपक घिसिङले जानकारी दिए। उनका अनुसार जो–जहाँबाट जोडिनु भए पनि सम्पूर्ण घिसिङ बंशका दाजुभाइ तथा दिदीबहिनीहरूको सहभागिता आवश्यक रहेको बताए।
कार्यक्रमले घिसिङ समुदायको सांस्कृतिक पहिचान संरक्षण, सामाजिक सद्भाव तथा भावी पुस्तालाई एकताबद्ध गर्दै अघि बढ्न प्रेरणा दिने विश्वास आयोजकले लिएको छ। सोनाम ल्होछारको अवसर पारेर आयोजना गरिने उक्त कार्यक्रममा शुभकामना आदान–प्रदानसँगै विविध सांस्कृतिक गतिविधि समेत समावेश गरिने जनाइएको छ।
नेपाल घिसिङ समाज केन्द्रीय कार्यसमितिले सम्पूर्ण घिसिङ समुदायलाई कार्यक्रममा उपस्थित भई सफल बनाउन आग्रह गरेको छ।












