धनकुटा — धनकुटाको हिले बजारमा साेमबार जिल्लामा बसोबास गर्ने तामाङ समुदायले मञ्जु श्री सम्वत २८६२ ता ल्हाे (घाेडा वर्ष ) सोनाम ल्होछारलाई बृहत् सांस्कृतिक कार्यक्रमसहित भव्य रूपमा स्वागत गरेका छन्। नेपाल तामाङ घेदुङ जिल्ला समन्वय समिति धनकुटाको आयोजनामा शुभकामना आदान–प्रदान तथा सांस्कृतिक कार्यक्रम सम्पन्न भएको हो।
कार्यक्रमका प्रमुख अतिथि कोशी प्रदेश सरकारका आन्तरिक मामिला तथा कानुन मन्त्री माननीय ईन्द्रमणि पराजुली रहनु भएको थियो। सम्बोधनका क्रममा मन्त्री पराजुलीले सोनाम ल्होछार तामाङ समुदायको मौलिक संस्कृति, पहिचान र परम्परासँग जोडिएको ऐतिहासिक पर्व भएको उल्लेख गर्दै यस्ता सांस्कृतिक कार्यक्रमले सामाजिक एकता, आपसी सद्भाव र सांस्कृतिक संरक्षणमा महत्वपूर्ण भूमिका खेल्ने बताउनुभयो।

कार्यक्रममा जिल्ला समन्वय समिति धनकुटाका प्रमुख निरेन तामाङ, सहिदभूमि गाउँपालिका अध्यक्ष मनोज राई, धनकुटा नगरपालिकाकी उपमेयर भिमा खनाल, वडा अध्यक्ष ओङद तामाङ, नेपाल तामाङ घेदुङका केन्द्रीय सदस्य विष्णु मोक्तान, निवर्तमान केन्द्रीय सदस्य लालचन्द्र गोङ्वा, घेदुङका संस्थापक अध्यक्ष भुपलाल लामा, जिल्ला घेदुङका पदाधिकारीहरु स-सचिव जय बहादुर माेक्तान , काेषाध्यक्ष सुभचन्द्र माेक्तान , नेपाल मगर संघका केन्द्रीय उपाध्यक्ष गणेश पिठाकोटे, उद्योग वाणिज्य संघ धनकुटाका वरिष्ठ उपाध्यक्ष तारा तितुङ, किरात राई यायोक्खाका अध्यक्ष उद्ववमणि राई, नेपाल मगर संघका जिल्ला तथा केन्द्रीय पदाधिकारीहरू, नेपाल आदिवासी जनजाति महासंघ, नागरिक समाजका प्रतिनिधि, विभिन्न संघ–संस्थाका प्रमुख तथा सामाजिक व्यक्तित्वहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।
हरेक वर्ष माघ महिनाको प्रतिपदादेखि ल्हो फेरिने अर्थात् नयाँ वर्ष सुरु हुने मान्यतासहित सोनाम ल्होछार मनाइने गरिन्छ। यस अवसरमा घरघरमा लुङ्दर दर्जु राख्ने, गुम्बा तथा चैत्यमा लुङ्ता फहराउने, सुख–समृद्धि, शान्ति र समृद्धिको कामना गर्दै पूजा–पाठ गर्ने परम्परा रहेको छ। सामूहिक रूपमा भेला भई नाचगान गर्ने, परम्परागत परिकार तयार गरी खाने चलनले सोनाम ल्होछारलाई धार्मिकसँगै सांस्कृतिक रूपमा पनि महत्वपूर्ण पर्व बनाएको छ।

कार्यक्रममा गायक खेम मोक्तानले आफ्नो प्रस्तुतीमार्फत उपस्थित दर्शकहरूलाई मनोरञ्जन प्रदान गर्नुभएको थियो। कार्यक्रम नेपाल तामाङ घेदुङ जिल्ला अध्यक्ष पेमा कुमारी लामाको अध्यक्षतामा सम्पन्न भएको हो। स्वागत मन्तव्य उपाध्यक्ष यज्ञ घिसिङले राख्नुभएको थियो भने कार्यक्रम सञ्चालन सचिव मानवि मोक्तानले गर्नुभएको थियो।
औपचारिक कार्यक्रमअघि हिले बजारमा तामाङ समुदायको मौलिक पहिचान झल्काउने सांस्कृतिक झाँकीसहित भव्य र्याली निकालिएको थियो, जसले हिले बजारलाई उत्सवमय बनाएको थियो।













