ललितपुर, १२ माघ /लैङ्गिक न्यायपूर्ण समाज निर्माणमा पत्रकारिता र मिडियाको भूमिका सशक्त बनाउने उद्देश्यसहित ललितपुरमा एक दिने लैङ्गिक न्यायमूलक पत्रकारिता सम्बन्धी राष्ट्रिय कार्यशाला सम्पन्न भएको छ।
काठमाडौँ, भक्तपुर र ललितपुर शाखाका नेपाल पत्रकार महासंघका प्रतिनिधि पत्रकारहरू तथा राष्ट्रिय तहमा लैङ्गिक समानताको क्षेत्रमा सक्रिय सञ्चारकर्मी गरी जम्मा ४५ जनाको सहभागितामा कार्यशाला सम्पन्न गरिएको हो।

कार्यशालाको मुख्य उद्देश्य सञ्चार क्षेत्रलाई लैङ्गिक रूपान्तरणको अभ्यासतर्फ उन्मुख गराउनु, लैङ्गिक हिंसा पीडित तथा प्रभावित केन्द्रित संवेदनशील रिपोर्टिङ प्रवर्द्धन गर्नु, साथै महिला अधिकार, बालअधिकार र अपाङ्गता भएका व्यक्तिहरूको अधिकार संरक्षणमा मिडियाको जिम्मेवारी र जवाफदेहिता बढाउनु रहेको आयोजकले जनाएको छ।
सुरक्षा र न्याय कार्यक्रम अन्तर्गत बेलायत सरकारको आर्थिक सहयोगमा पिपुल इन नीड नेपालको नेतृत्वमा दिव्य विकास श्रोत केन्द्र, पर्सा र हामी दाजुभाइ संस्थाले संघीय तह तथा मधेश प्रदेशमा लैङ्गिक विभेदमा आधारित हिंसा रोकथाम तथा प्रतिकार्यका लागि समुदायस्तरमा विभिन्न कार्यक्रम सञ्चालन गर्दै आएका छन्।
कार्यशालामा लैङ्गिक अवधारणा, डिजिटल पत्रकारिता, गलत सूचना नियन्त्रण, पीडितको गोपनीयता र सुरक्षा, पत्रकार आचारसंहिता तथा सकारात्मक सामाजिक रूपान्तरणमा मिडियाको भूमिकाबारे विस्तृत छलफल गरिएको थियो।
कार्यक्रममा सुरक्षा र न्याय कार्यक्रमका पाँच मुख्य पैरवी सन्देशहरूमा विशेष जोड दिइएको थियो। ती सन्देशहरूमा छोरीलाई बोझ होइन, महत्वपूर्ण सन्तानको रूपमा हेर्नुपर्ने, किशोर–किशोरीको विवाह ढिलो गर्दा शिक्षा र अवसरमा सहयोग पुग्ने, मायाको नाममा हुने हिंसा गलत हुने, स्वस्थ सम्बन्धले परिवार खुसी बनाउने र हिंसाको रिपोर्टिङले समाजलाई सुरक्षित बनाउने विषय समेटिएका थिए।
कार्यशालाको सहजीकरण सार्वजनिक सेवा प्रसारण नेपालकी नायब महाप्रबन्धक तथा लैङ्गिक विश्लेषक आरती चटौतले गर्नुभएको थियो। साथै अनलाइन खबरकी पत्रकार सुमित्रा लुइँटेलले पत्रकार आचारसंहिता र लैङ्गिक न्याय प्रवर्द्धनमा सञ्चारकर्मीको भूमिकाबारे प्रस्तुति दिनुभएको थियो।
कार्यक्रमको उद्घाटन हामी दाजुभाइका महासचिव अशोक सिवाकोटीले गर्नुभएको थियो भने पिपुल इन नीड नेपालकी लैङ्गिक समानता, अपाङ्गता तथा सामाजिक समावेशीकरण र संरक्षक संयोजक निर्मला केसीले सुरक्षा र न्याय कार्यक्रमबारे जानकारी दिनुभएको थियो।
कार्यशालाले सञ्चार क्षेत्रलाई न्यायकेंद्रित, समावेशी र जिम्मेवार रिपोर्टिङतर्फ प्रेरित गर्ने विश्वास लिइएको छ। साथै, कार्यशालापछि छनौट भएका केही सञ्चारकर्मीहरूले लैङ्गिक समानता तथा सामाजिक रूपान्तरणका लागि फेलोसिप पत्रकारका रूपमा काम गर्ने अवसर पाउने जनाइएको छ।












