ललितपुर/ ८ फागुन: नेपाली कांग्रेसका तर्फबाट ललितपुर क्षेत्र नं. ३ बाट उम्मेदवार बन्नुभएका जितेन्द्रकुमार श्रेष्ठ आफ्नो निर्वाचन क्षेत्रका मतदातासंग उत्साह बटुल्दै आफ्नो एजेन्डाका आधारमा मत माग्न व्यस्त रहनु भएको छ ।
राजनीतिक र सामाजिक क्षेत्रमा लामोसमयसम्म योगदान पुर्याउनु भएका श्रेष्ठले आफ्ना मतदातासंग देशको परिस्थिति र निर्वाचनमा आफ्नो उम्मेदवारीको आवश्यकता र ओैचित्यतालाई उजागर गर्दै यस क्षेत्रमा रहेका समस्याहरुको समाधान गर्ने प्रतिवद्धताका साथ नेपाली कांग्रेस र आफूलाई जिताउनका लागि आग्रह गर्दै घरदैलोमा पुगेर उत्साह बटुलिरहनु भएको छ।
माघ ६ गते उम्मेदवारी दिएसंगै निर्वाचनका लागि पार्टीका आन्तरिक उपसमितिहरु गठन र परिचालनलाई प्रभावकारी बनाउँदै फागुन ४ गतेदेखि हरेक दिन मतदाताको घरदैलोमा पुग्दै मत मागिराख्नु भएको छ।
इमानदार छबि, निष्ठावान र बेदाग व्यक्तित्वको पहिचान बनाउनु भएका राजनीतिक र समाजसेवी व्यक्तित्व जितेन्द्रले आफ्नो जीवनको ४० वर्ष पार्टीको संगठनको विकास र विस्तारका साथै सामाजिक कार्यमा समर्पित गर्नुभएको छ।
शालीन, मिलनसार, भद्र नेताको पहिचान
ललितपुरको पुल्चोकमा जन्मिएका जितेन्द्र कुमार श्रेष्ठ सानैदेखि सामाजिक कामकासाथै टोल, छिमेकमा भएका घटनाको समाधान गर्न र सम्बोधन गर्न लागि पर्नु हुन्थ्यो।
बाढी पहिरो, भूकम्प जस्ता प्राकृतिक विपत्तिमा उहाँले सधै नागरिकको साथमा रहनु भएको बताउनुहुन्छ सुनाकोठीका ज्योतिकुमार थापा। “कोरोनाले जनजीवन कष्टकर बनाएको अवस्थामा जितेन्द्र कुमार श्रेष्ठले सधैं अग्र मोर्चामा रहेर नागरिकको समस्या र आवश्यकतालाई सम्बोधन गर्न निरन्तर लागि रहनुभयो।” उहाँले भन्नुभयो।
वि.स०. २०४३ सालमा नेपाली कांग्रेसको भातृसंगठन नेपाल विद्यार्थी संघको सदस्यता लिएपछि सामाजिकसँगसँगै श्रेष्ठको राजनीतिक यात्रा शुरु भयो ।
यसअघि इकाई सभापति, क्षेत्रीय कोषाध्यक्ष, क्षेत्रीय सचिव, जिल्ला कार्यसमितिको सदस्य र कोषाध्यक्षको जिम्मेवारीमा रहेर उहाँले आफ्नो जिम्मेवारी पुरा गरिसक्नु भएको छ ।
२०४६ सालको पञ्चायतको व्यवस्था विरुद्धको आन्दोलमा उहाँ सक्रिय भूमिकामा हुनुहुन्थ्यो । नेपाली कांग्रेस महासमिति सदस्य समेत रहेका जितेन्द्र शालीन भद्र र मिलनसार युवा नेताको रुपमा चिनिनु हुन्छ ।
राजा ज्ञानेन्द्रले २०६२ /२०६३को गरेको कुको विरुद्धमा भएको आन्दोलनमा समेत जितेन्द्रले सक्रिय भूमिका निर्वाह गर्नुभयो । त्यतिबेला पाटीले उहाँलाई आन्दोलन परिचालन समितिको सदस्यको जिम्मेवारी दिएको थियो । जितेन्द्र पार्टी नेतृत्वले दिएको जिम्मेवार सजगता र जिम्मेवार भएर पुरा गर्न सक्ने खुबी भएका नेता को रुपमा चिनिनुहुन्छ ।
२०७८ सालको फागुन महिनामा भएको नेपाली कांग्रेसको १४ ओैं अधिवेशनबाट पार्टीको जिल्ला सभापतिमा निर्वाचित हुनुभएका जितेन्द्रकुमार श्रेष्ठको नेतृत्व स्थानीय तहको निर्वाचनमा पार्टीले ललितपुरका ६ वट स्थानीय तहमा बहुमत जनप्रतिनिधिहरुलाई निर्वाचित गराउन सफलता मिलेको थियोे। मन, बचन र कर्मले हरेक व्यक्तिको सुखदुःखमा साथदिन सक्ने क्षमता भएका श्रेष्ठको जोड ललितपुरको कला, संस्कृति र सम्पदा संरक्षण, निर्माण र पुनर्निर्माणका लागि आवश्यक कानुन निर्माणलाई प्रभावकारी बनाउनुमा रहेको छ।
“रोजगारी सिर्जना र उद्यमशीलता विकास मेरो प्राथमिकताको क्षेत्र हुन्, कला, संस्कृति र सम्पदालाई सूचना र प्रविधिसँग जोडेर प्रदेश र स्थानीय सरकारसँग सहकार्य गरी काम गर्ने योजना तर्जुमा गर्न नीति निर्माणमा लाग्ने मेरो योजना छ।” उम्मेदवार जितेन्द्रकुमार श्रेष्ठले भन्नुभयो।
ललितपुर क्षेत्र नं.३को ऐतिहासिक, सांस्कृतिक र यहाँका शहरी र ग्रामीण विशेषतालाई सन्तुलनमा राखेर विकास निर्माणको काम गर्न सहज हुने नीति निर्माणमा आफ्नो योगदान रहने श्रेष्ठ बताउनुहुन्छ ।
पछिल्लो समय भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनको माग अनुसार सुशासन, जवाफदेहितालाई प्राथमिकतामा राखेर संसदमा प्रभावकारी भूमिका निर्वाह गर्ने बताउनुहुन्छ श्रेष्ठ।
“राजनीति केवल पद र प्रतिष्ठाका लागि होइन, परिवर्तनको लागि हुनुपर्छ, आममतदाताको भावनाको सम्मान र यहाँको समस्या समाधानलाई प्राथमिकतामा राखेर काम गर्नेछु।” उहाँले भन्नुभयो।
आमनागरिकको चाहानाअनुसार परिवर्तनको पक्षमा उर्लिएको जेनजी आन्दोलनको मागलाई सम्बोधन गर्न नेपाली कांग्रेसले विशेष महाधिवेशन गरेर परिवर्तनलाई आत्मसात गरेकोले आफूलाई मत दिएर विजयी गराउँदै ललितपुरको विकासको लागि सक्रिय हुने अवसर दिलाउन शुभचिन्तक, मतदाता र सम्पूर्ण ललितपुरबासी मतदाता समक्ष उहाँले अनुरोध गर्नुभएको छ । —












