
काठमाडौं। काठमाडौंमा मतदान गरेपछि आफ्नो निर्वाचन क्षेत्र झापा–५ जाने तयारी गरेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन्द्र शाह (बालेन) झापा पुग्न नसकी बीच बाटोबाटै काठमाडौं फर्किएका छन्।
हेली एभरेस्ट कम्पनीको दर्ता नम्बर ‘९एन–एओबी’ भएको हेलिकप्टरमार्फत शाहसहित पाँच सदस्यीय टोली आज बिहान काठमाडौंबाट झापाका लागि उडेको थियो। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल स्रोतका अनुसार हेलिकप्टर बिहान ९:१२ बजे काठमाडौंबाट उडेको थियो।
तर करिब आधा घण्टाको उडानपछि उक्त हेलिकप्टर झापा नपुगी पुनः काठमाडौं नै फर्किएको बताइएको छ। स्रोतका अनुसार हेलिकप्टर ओखलढुंगाको आकाशमाथि पुगेपछि फर्काइएको हो।
विमानस्थल स्रोतले मौसमका कारण नभई अन्य सुरक्षासम्बन्धी कारणले हेलिकप्टर फर्काइएको हुनसक्ने संकेत गरेको छ। ‘काठमाडौं फर्कनुपर्ने जस्तो खराब मौसम थिएन, सुरक्षाको कारण देखाउँदै फर्काउने निर्णय गरिएको जस्तो देखिन्छ,’ स्रोतले जनाएको छ।
यता शाहको सचिवालयले भने सुरक्षा निकायबाट झापा जाँदा सुरक्षा चुनौती बढ्न सक्ने सूचना आएपछि यात्रा स्थगित गरिएको दाबी गरेको छ।
तर जिल्ला प्रहरी कार्यालय झापाकी एसपी बसुन्धरा खड्का ले भने प्रहरीले यस्तो कुनै सुझाव नदिएको बताएकी छन्।
उनले भनिन्, ‘हामीले सुरक्षाको कारण देखाउँदै नआइदिन भनेका छैनौं। यहाँ शान्तिपूर्ण रूपमा मतदान भइरहेको छ। उहाँहरू आफैंले सुरक्षा चुनौती हुन सक्छ भनेर फर्किनुभएको हो भने त्यसबारे हामीलाई जानकारी छैन।’
News By – Vishu Gurung












