काठमाडौं ,फागुन /तामाङ सांगीतिक जगतका पृथक शब्दकार धनराज लामाको ४५औँ शब्द रचनामा आधारित तामाङ ठट्यौली दोहोरी गीत ‘फाई हाङ्सु’ चाँडै सार्वजनिक हुने भएको छ। उक्त गीत गायक तथा संगीतकार अर्पण थिङ तामाङको आधिकारिक युट्युब च्यानलमार्फत सार्वजनिक गरिने तयारी भइरहेको जानकारी प्राप्त भएको छ।
गीतमा शब्द धनराज लामाको रहेको छ भने संगीत, स्वर तथा संगीत संयोजन अर्पण थिङ तामाङले नै गरेका छन्। यस गीतमा महिला स्वरका रूपमा गायिका अश्मिता रुम्बाले साथ दिएकी छन्। गीतको ध्वनि मिश्रण पनि अर्पण थिङ तामाङले नै गरेका हुन्। साथै, गीतका निर्माता पनि उनी नै रहेका छन्।

गीतको रेकर्डिङ काठमाडौंको बौद्धस्थित अर्पण स्टुडियोमा गरिएको हो।
गीतको विषयवस्तु
‘फाई हाङ्सु’ गीत तामाङ ठट्यौली शैलीको दोहोरी गीत हो। गीतमा एक जना अविवाहित युवक र एक विवाहित महिलाबीच रोचक संवादात्मक दोहोरी प्रस्तुत गरिएको छ। दोहोरीका क्रममा युवकले आफू अविवाहित भए पनि अर्काको श्रीमतीसँग घरबार बस्न नसक्ने बताउँछ।
यता महिलाले भने केवल राम्रो अनुहारले मात्र जीवन नचल्ने, मायाले मात्र संसार नथाम्ने र जीवन चलाउन आर्थिक पक्ष पनि आवश्यक पर्ने तर्क प्रस्तुत गर्छिन्। यसै क्रममा युवकले मन मिलेपछि सम्बन्ध सम्भव हुने तर जबर्जस्ती गरेर सम्बन्ध टिकाउन नसकिने सन्देश व्यक्त गर्छ।
रोचक संवाद र सामाजिक सन्देश बोकेको यस तामाङ ठट्यौली दोहोरी गीत ‘फाई हाङ्सु’ सार्वजनिक भएपछि दर्शक–श्रोतामाझ राम्रो प्रतिक्रिया पाउने अपेक्षा गरिएको छ।












