काभ्रे । तामाङ साङ्गितिक क्षेत्रमा पृथक पहिचान बनाएका शब्दकार धनराज लामाको ४७औँ शब्द रचनामा आधारित नयाँ तामाङ दुःखान्त गीत “छे फाबारी” चाँडै सार्वजनिक हुने भएको छ। उक्त गीत गायक रबिन तामाङ दोङको आधिकारिक युट्युब च्यानल Rabin Dong Official मार्फत सार्वजनिक गरिने जनाइएको छ।
रबिन तामाङ दोङको जीवन कथामा आधारित यस गीतमा शब्द रचना धनराज लामाको रहेको छ भने सङ्गीत प्रताप जिम्बाले तयार पारेका छन्। गीतको सङ्गीत संयोजन, ध्वनि मिश्रण तथा रेकर्डिङ सानुबाबु घिसिङले गरेका हुन्। साथै, गीतमा स्वर स्वयं रबिन तामाङ दोङले भरेका छन्। गीतका निर्माता पनि रबिन तामाङ दोङ नै रहेका छन्।

उक्त गीतको रेकर्डिङ फ्याफुल्ला नेपाल डिजिटल रेकर्ड स्टुडियो मा गरिएको हो भने मिडिया पार्टनरको रूपमा सुनौलो समाज डटकम रहेको छ।
“छे फाबारी” गीतले समकालीन समाजको यथार्थलाई प्रस्तुत गर्न खोजेको छ। गीतमा विवाहित पुरुष र महिलाबीच एक्कासी माया बस्ने अवस्थालाई चित्रण गरिएको छ। तर, आधुनिक समयमा माया भन्दा पनि पैसाले जीवन धान्ने यथार्थलाई उजागर गर्दै, बनेको घरबार जोगाउनुपर्ने सन्देश गीतमार्फत दिन खोजिएको निर्माण पक्षले जनाएको छ।
भावनात्मक कथा र सामाजिक सन्देश बोकेको यस गीतले दर्शक तथा स्रोताको मन छुने अपेक्षा गरिएको छ।












