दोलखा —  नेपालको संविधान घोषणा पछि देशभर स्थानीय तह पुनर्संरचना प्रक्रिया अघि बढ्दा दोलखा जिल्लामा पनि भूगोल र केन्द्र निर्धारणका लागि सर्वदलीय बैठकहरू सञ्चालन भएका थिए। सोही सन्दर्भमा शैलुङ गाउँपालिकाका पूर्व अध्यक्ष भरत प्रसाद दुलालले तत्कालीन घटनाक्रमबारे आफ्नो अनुभव सार्वजनिक गरेका छन्।

दुलालका अनुसार प्रारम्भिक चरणका बैठकहरूमा नियमित सहभागिता जनाउन नसके पनि उनले आफ्ना धारणा सामाजिक सञ्जालमार्फत राख्दै आएका थिए। शैलुङ क्षेत्रका विषयमा आफू जानकार रहेको उल्लेख गर्दै उनले अन्तिम सर्वदलीय बैठकमा प्रत्यक्ष सहभागिता जनाएका थिए।

जिल्ला विकास समितिमा सम्पन्न उक्त बैठकमा विभिन्न राजनीतिक दलका जिल्ला स्तरीय नेताहरूको सहभागिता रहेको थियो। पुनर्संरचनाको अन्तिम टुंगो लगाउने क्रममा मेलुङ र शैलुङ क्षेत्रबारे विवाद उत्पन्न भएको थियो। छलफलपछि ठूला नेताहरूले साविक पवटी र शैलुङ्गेश्वर गाविसलाई मिलाएर तीन वटा वडामा विभाजन गरी मेलुङ गाउँपालिकामा समावेश गर्ने र केन्द्र भेट्नु गाविस भवनमा राख्ने प्रस्ताव अघि सारेका थिए। साथै, साविक लाकुरीडाँडा गाविसलाई भिमेश्वर नगरपालिका मा गाभ्ने सिफारिस पनि भइसकेको थियो।

यस निर्णयप्रति असहमति जनाउँदै दुलालले बैठकमै कडा आपत्ति जनाएका थिए। उनले शैलुङ क्षेत्रबारे आफूलाई बढी जानकारी रहेको भन्दै अन्याय स्वीकार्य नहुने स्पष्ट पारे। अन्ततः बैठकका अध्यक्षले विषयलाई सहमति स्वरूप सिफारिस गर्ने प्रस्ताव राखेपछि बैठक टुंगिएको थियो।

बैठकपछि दुलालले शैलुङ क्षेत्रका सरोकारवालाहरूसँग समन्वय गर्दै शैलुङ्गेश्वर गाविसलाई पुनः शैलुङ गाउँपालिकामै समेट्न दबाब सिर्जना गर्ने अभियान सुरु गरेका थिए। सोही क्रममा उनी काठमाडौं पुगेर तत्कालीन राज्य पुनर्संरचना आयोगका पदाधिकारीहरूसँग भेटवार्ता गरेका थिए।

दुलालका अनुसार उनले आयोगसमक्ष शैलुङ्गेश्वर गाविसलाई शैलुङ गाउँपालिकामा नै राख्नुपर्ने आधारहरू प्रस्तुत गरेका थिए। त्यसपछि आयोगका अध्यक्ष बालानन्द पौडेल सँग भेट गर्ने अवसर समेत प्राप्त भएको र सकारात्मक आश्वासन पाएको उनले बताएका छन्।

अन्ततः आयोगले अन्तिम निर्णय सार्वजनिक गर्दा शैलुङ्गेश्वर गाविसलाई एक वडा कायम गर्दै शैलुङ गाउँपालिकामै समावेश गरिएको थियो। यस निर्णयले आफूलाई केही राहत महसुस भएको दुलालको भनाइ छ।

उनले पुनर्संरचनाको क्रममा दोलखा जिल्लाका अन्य स्थानहरूमा पनि यस्ता विवाद र असहमति भएको उल्लेख गर्दै सम्भव भए आगामी दिनमा ती विषयहरू सच्याउन प्रयास गर्नुपर्ने बताएका छन्।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय