ललितपुर । आयुर्वेद तथा वैकल्पिक चिकित्सालय ललितपुरले नागरिकहरूको समग्र स्वास्थ्य प्रवद्र्धन गर्ने उद्देश्यले नियमित योग सेवा सञ्चालनमा ल्याएको छ । चिकित्सालय परिसरमा हरेक दिन बिहान ७ बजेदेखि ८ बजेसम्म सञ्चालन हुने उक्त योग कार्यक्रममा स्थानीय नागरिकहरूको सहभागिता बढ्दै गएको छ ।

चिकित्सालयका अनुसार शारीरिक रूपमा मात्र स्वस्थ रहनु पर्याप्त नभई मानसिक, सामाजिक तथा आध्यात्मिक रूपमा समेत सुदृढ रहनु आवश्यक हुन्छ । आयुर्वेदले यी सबै पक्षलाई समान रूपमा महत्व दिने भएकाले योग अभ्यासमार्फत समग्र स्वास्थ्य सुदृढीकरणमा ध्यान केन्द्रित गरिएको जनाइएको छ ।
नियमित योग अभ्यासले शरीरलाई स्वस्थ राख्नुका साथै मानसिक तनाव व्यवस्थापनमा समेत सहयोग पुग्ने विश्वास गरिएको छ । कार्यक्रममा सहभागी हुने नागरिकहरूको मासिक रूपमा मधुमेह तथा रक्तचाप परीक्षण समेत गरिँदै आएको चिकित्सालयले जनाएको छ । यसले नागरिकहरूमा स्वास्थ्यप्रति जागरूकता बढाउनुका साथै समयमै रोग पहिचान र व्यवस्थापनमा मद्दत पु¥याउने अपेक्षा गरिएको छ ।
कार्यक्रमको मुख्य उद्देश्य नागरिकहरूमा स्वास्थ्य साक्षरता अभिवृद्धि गर्दै स्वस्थकर जीवनशैली अपनाउन प्रेरित गर्नु रहेको छ । योग अभ्यासमार्फत दैनिक जीवनमा सकारात्मक परिवर्तन ल्याउने र दीर्घकालीन रूपमा स्वास्थ्य जोखिम न्यूनीकरण गर्ने लक्ष्य राखिएको चिकित्सालयले जनाएको छ ।
चिकित्सालयकी कार्यालय प्रमुख डा. पुनम नेपालका अनुसार उक्त कार्यक्रम श्रावण महिनादेखि सञ्चालनमा आएको हो । हाल दैनिक रूपमा करिब १५ देखि २० जनासम्म सहभागी हुने गरेका छन् ।
उनले चिकित्सालयको आफ्नै भवन नहुँदा तथा भाडाको भवन साँघुरो रहेकाले इच्छुक सबैलाई कार्यक्रममा समेट्न कठिनाइ भइरहेको बताइन् । पर्याप्त स्थान अभावका कारण सहभागी संख्या सीमित गर्नुपरेको उनले उल्लेख गरिन् ।
यद्यपि, उपलब्ध स्रोत र साधनको सीमितताबीच पनि चिकित्सालयले योग सेवा नियमित रूपमा सञ्चालन गर्दै आएको र आगामी दिनमा थप व्यवस्थित र विस्तार गर्ने योजना रहेको जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय