
१६ वैशाख, काठमाडौं । राजधानीको आकासमा देखिएको प्रतिकूल मौसमका कारण हवाई सेवा प्रभावित बनेको छ।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका अनुसार नयाँदिल्लीबाट आएको एयर इन्डियाको विमानले अवतरण प्रयास असफल भएपछि ‘मिस अप्रोच’ गर्दै केहीबेर आकासमै होल्डिङमा राखिएको थियो। पछि उक्त विमानलाई वाराणसीतर्फ डाइभर्ट गरिएको छ।
यस्तै, थाई लायन एयर र फ्लाइ दुबईका जहाजहरू पनि अवतरण अनुमति पर्खँदै आकासमै होल्डिङमा रहेका छन्।
मौसमकै कारण आन्तरिक उडानहरूमा समेत असर परेको छ। सिमरा, पोखरा, विराटनगर र भैरहवातर्फका उडानहरू निर्धारित समयमै सञ्चालन हुन नसकी ढिलाइ भइरहेको विमानस्थलले जनाएको छ।













