
काठमाडौं । विश्व प्रेस स्वतन्त्रता दिवसको अवसरमा नेपाल पत्रकार महासंघको अगुवाइमा आज राजधानीको बानेश्वर क्षेत्रमा पत्रकार तथा सञ्चारकर्मीहरूले र्याली आयोजना गरेका छन्। अभिव्यक्ति स्वतन्त्रता, प्रेस स्वतन्त्रता र लोकतान्त्रिक मूल्यहरूको संरक्षणको माग गर्दै आयोजित उक्त र्यालीमा देशभरका पत्रकार, सञ्चारकर्मी, नागरिक समाजका प्रतिनिधि तथा विभिन्न पेशागत संघ–संस्थाका सदस्यहरूको उल्लेखनीय सहभागिता रहेको थियो।
र्याली बानेश्वर क्षेत्रमा भेला भएर विभिन्न नाराबाजीसहित अघि बढेको थियो। सहभागीहरूले “प्रेस स्वतन्त्रता हाम्रो अधिकार हो”, “लोकतन्त्रको आधार स्वतन्त्र प्रेस” जस्ता सन्देश लेखिएका प्लेकार्ड बोकेका थिए। उनीहरूले पछिल्लो समय प्रेसमाथि बढ्दै गएका चुनौती, दबाब र असहज वातावरणप्रति चिन्ता व्यक्त गर्दै यसको संरक्षणका लागि राज्य र समाज दुवै जिम्मेवार हुनुपर्ने बताएका छन्।
कार्यक्रमलाई सम्बोधन गर्दै नेपाल पत्रकार महासंघकी अध्यक्ष निर्मला शर्माले विश्व प्रेस स्वतन्त्रता दिवसको अवसरमा सम्पूर्ण सञ्चारकर्मी तथा अभिव्यक्ति स्वतन्त्रताका पक्षधरहरूलाई शुभकामना व्यक्त गरिन्। उनले वर्तमान अवस्थामा प्रेस स्वतन्त्रता झन् जटिल र पेचिलो बन्दै गएको उल्लेख गर्दै पत्रकारिता क्षेत्रले विभिन्न किसिमका दबाब, धम्की र हस्तक्षेपको सामना गर्नुपरेको बताइन्।
उनले भनिन्, “प्रेस स्वतन्त्रता कुनै एक पक्षको मात्र सरोकार होइन, यो सम्पूर्ण लोकतान्त्रिक समाजको आधारस्तम्भ हो। आजको अवस्थामा यसलाई जोगाउन सबैको साझा प्रतिबद्धता आवश्यक छ। हामी राज्य, राजनीतिक दल, नागरिक समाज र पेशागत संस्थाहरूलाई प्रेस स्वतन्त्रताको संरक्षणमा ऐक्यबद्ध हुन आह्वान गर्दछौं।”
शर्माले प्रेसमाथि हुने हस्तक्षेप, समाचार संकलनमा अवरोध, र पत्रकारमाथि हुने दुव्र्यवहारका घटनाहरू बढ्दै गएकोप्रति गम्भीर ध्यानाकर्षण गराउँदै यस्ता गतिविधि रोक्न सरकारलाई प्रभावकारी कदम चाल्न आग्रह गरिन्। साथै, उनले सञ्चारमाध्यमहरूलाई पनि जिम्मेवार र मर्यादित पत्रकारिता गर्न आग्रह गर्दै विश्वासिलो सूचना प्रवाहमार्फत समाजलाई सही दिशा दिनुपर्नेमा जोड दिइन्।
कार्यक्रममा सहभागी अन्य वक्ताहरूले पनि प्रेस स्वतन्त्रता कमजोर बन्दै गएकोप्रति चिन्ता व्यक्त गर्दै लोकतन्त्रको सुदृढीकरणका लागि स्वतन्त्र, निष्पक्ष र जिम्मेवार पत्रकारिता अपरिहार्य रहेको धारणा राखे। उनीहरूले प्रेसमाथि हुने कुनै पनि प्रकारका दमन, सेन्सरशिप वा राजनीतिक हस्तक्षेप अस्वीकार्य हुने स्पष्ट पारे।
नेपालमा प्रत्येक वर्ष मे ३ मा विश्व प्रेस स्वतन्त्रता दिवस विभिन्न कार्यक्रममार्फत मनाइँदै आएको छ। यस दिवसले प्रेस स्वतन्त्रताको महत्त्वबारे सचेतना फैलाउनुका साथै पत्रकारहरूको अधिकार र सुरक्षाको पक्षमा आवाज उठाउने अवसर प्रदान गर्ने गरेको छ।
यस वर्षको दिवस पनि प्रेस स्वतन्त्रता र अभिव्यक्ति स्वतन्त्रताको संरक्षणका लागि थप एकजुट हुनुपर्ने सन्देशसहित सम्पन्न भएको छ। सहभागीहरूले स्वतन्त्र प्रेसबिना सुदृढ लोकतन्त्र सम्भव नहुने भन्दै यसको रक्षा सबैको साझा दायित्व भएको दोहोर्याएका छन्।













