ललितपुर । ललितपुरको गोदावरी नगरपालिका वडा नं. ८ डुकुछाप स्थित गणेश माध्यमिक विद्यालय व्यवस्थापन समिति र शिक्षकहरूको बैठक चलिरहेको समयमा स्थानीय एक व्यक्तिले जबरजस्ती प्रवेश गरी गालीगलौज, अपशब्द र अभद्र व्यवहार गरेको छ ।

अभद्र व्यवहार गरेपछि विद्यालयको शैक्षिक वातावरण नै प्रभावित भएको भन्दै विद्यालय प्रशासन र व्यवस्थापन समितिले गम्भीर आपत्ति जनाएको छ ।
विद्यालय पक्षका अनुसार वैशाख १४ गते विद्यालयको नियमित व्यवस्थापन समितिको बैठक चलिरहेका बेला स्थानीय मुकुन्द घिमिरे अनधिकृत रूपमा बैठक कक्षमा प्रवेश गरेका थिए । उनले विद्यालय व्यवस्थापन समितिका अध्यक्ष, शिक्षक तथा कर्मचारीमाथि अपशब्द प्रयोग गर्नुका साथै होहल्ला र अमर्यादित व्यवहार गरेको आरोप लगाइएको छ ।
घटनापछि विद्यालय व्यवस्थापन समिति तथा शिक्षकहरू मानसिक तनावमा परेको बताइएको छ । विद्यालयका प्रधानाध्यापक बद्री पौडेलले घटनापछि विद्यालयको शैक्षिक वातावरण असहज बनेको र शिक्षक तथा विद्यार्थीहरू त्रसित अवस्थामा पठन पाठन गर्न बाध्य भएको बताए ।
विद्यालयका व्यवस्थापन समितिका अध्यक्ष गौतम तिमल्सिना र प्रधानाध्यापक बद्री पौडेलले गोदावरी–८ डुकुछापमा पठाएको पत्रमा ‘विद्यालय जस्तो पवित्र शैक्षिक संस्थामा भएको यस्तो गतिविधिले संस्थागत गरिमा, अनुशासन र सामाजिक सद्भावमाथि आघात पुगेको’ उल्लेख गरिएको छ । पत्रमा सम्पूर्ण शिक्षक, शिक्षिका, विद्यालय व्यवस्थापन समिति र सिङ्गो संस्थामाथि नै प्रहार भएको अनुभूति गरिएको जनाइएको छ ।
घटनापछि विद्यालय व्यवस्थापन समितिका अध्यक्ष तिमल्सिना र प्रधानाध्यापक पौडेलले गोदावरी नगरपालिका वडा नं। ८ मा लिखित निवेदन दिएका थिए । निवेदनमा घटनाले विद्यालयको शैक्षिक वातावरणमा प्रत्यक्ष नकारात्मक असर परेको भन्दै आवश्यक छानबिन गरी दोषीमाथि कानुनी तथा प्रशासनिक कारवाही गर्न माग गरिएको थियो ।
त्यसपछि गोदावरी नगरपालिका वडा नं। ८ कार्यालयले जिल्ला प्रहरी परिसर ललितपुरलाई पत्र लेख्दै घटनाबारे कानुनी प्रक्रिया अघि बढाउन अनुरोध गरेको थियो । साथै सो पत्रको बोधार्थ जिल्ला प्रशासन कार्यालय ललितपुरमा पनि दिएको थियो । वडा कार्यालयले पठाएको पत्रमा मुकुन्द घिमिरेले बैठकमा जबरजस्ती प्रवेश गरी गालीगलौज, अभद्र व्यवहार तथा सार्वजनिक कार्य अवरुद्ध गरेको उल्लेख गरिएको छ । साथै मुलुकी अपराध संहिता ऐन २०७४ को दफा ६६ र दफा ११८ अनुसार कारवाही गर्न प्रहरीलाई अनुरोध गरिएको थियो ।
घटनापछि ललितपुरका प्रमुख जिल्ला अधिकारी प्रेमप्रसाद भट्टराईको आदेशमा जिल्ला प्रहरी परिसरलाई अभद्र व्यवहारमा आवश्यक कारवाही गर्न निर्देशन दिइएको थियो ।
तर विद्यालय पक्षले भने प्रहरी प्रशासनले घटनालाई गम्भीर रूपमा नलिएको आरोप लगाएको छ । विद्यालय व्यवस्थापन समिति अध्यक्ष तिमल्सिनाका अनुसार प्रहरीले वैशाख २२ गते मुकुन्द घिमिरेलाई नियन्त्रणमा लिए पनि राति नै प्रहरीले राजनीतिक दबाब झेल्न नसकेर छोडेको आरोप लगाए । त्यसपछि वैशाख २३ गते विहान पुनः नियन्त्रणमा लिएर फेरि रिहा गरिएको उनले बताए ।
“विद्यालयभित्र शिक्षकलाई गाली गर्ने, बैठक भङ्ग गर्ने, सार्वजनिक संस्थाको काम अवरुद्ध गर्ने व्यक्तिमाथि उजुरी दिदा पनि मुद्दा दर्ता भएको छैन,” अध्यक्ष तिमल्सिनाले भने, “राजनीतिक पहुँच र दबाबका आधारमा प्रहरीले कारवाही गर्न नखोजेको हाम्रो आशंका छ ।”
विद्यालय प्रशासनले प्रहरीको भूमिकाप्रति असन्तुष्टि जनाउँदै दोषीलाई संरक्षण गरिएको आरोप समेत लगाएको छ । गोदावरी–८ का वडा अध्यक्ष सुकबहादुर तामाङका अनुसार घटनापछि विद्यालयमा त्रासको वातावरण बनेको छ भने पठनपाठनसमेत प्रभावित भएको बताए ।
विद्यालयका प्रधानाध्यापक पौडेलले विद्यालयमा शैक्षिक वातावरण खलबलिएको बताए । “शिक्षकहरू असुरक्षित महसुस गरिरहेका छन् । बैठकमै आएर अपशब्द प्रयोग गर्ने र होहल्ला गर्ने प्रवृत्तिले विद्यालयको वातावरण बिग्रिएको छ,” उनले भने ।
यता जिल्ला प्रहरी परिसर ललितपुरका प्रहरी उपरीक्षक तथा सूचना अधिकारी गौतम मिश्रले भने मुकुन्द घिमिरे मानसिक स्वास्थ्यसम्बन्धी उपचारमा रहेको बताए । उनका अनुसार घिमिरेले साइक्याट्रिक औषधि सेवन गरिरहेका कारण घटनालाई सोही सन्दर्भमा समेत हेरिएको छ ।
तर विद्यालय पक्षले मानसिक स्वास्थ्यको विषय देखाएर घटनालाई सामान्यीकरण गर्न खोजिएको आरोप लगाएको छ । उनीहरूले विद्यालयभित्र भएको अभद्र व्यवहार, सार्वजनिक संस्थाको काममा अवरोध तथा शिक्षकहरूमाथिको दुव्र्यवहारलाई कानुनअनुसार कारवाही हुनुपर्ने माग गरेका छन् ।
स्थानीय अभिभावकहरूले पनि विद्यालय जस्तो संवेदनशील शैक्षिक संस्थामा बारम्बार यस्ता घटना हुनु दुःखद भएको बताए । उनीहरूले विद्यालयको शान्त र सुरक्षित वातावरण कायम गर्न प्रशासनले निष्पक्ष ढङ्गले काम गर्नुपर्ने माग गरेका छन् ।
घटनाले अहिले डुकुछाप क्षेत्रको शैक्षिक तथा सामाजिक वातावरणमा चर्चा पाएको छ । व्यवस्थापन समिति, विद्यालय प्रशासन, वडा कार्यालय भने दोषीमाथि कानुनी कारवाही नभएसम्म आफूहरू न्यायका लागि लडिरहने बताएका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय