
काठमाडौँ । वैदेशिक रोजगारीका नाममा अनियमितता भएको आशंकापछि श्रम मन्त्रालयले ललितपुरको जावलाखेलस्थित मुन म्यानपावर मा आकस्मिक अनुगमन गरेको छ।
श्रममन्त्री रामजी यादवका स्वकीय सचिव सरोज यादवका अनुसार मलेसिया जान तयारीमा रहेका एक युवाले प्रधानमन्त्री कार्यालयमा उजुरी दर्ता गरेपछि मन्त्रालयको टोली सक्रिय बनेको हो। त्यसपछि शुक्रबार प्रहरीसहित पुगेको संयुक्त टोलीले म्यानपावर कार्यालयमा छापा मारेर अनुसन्धान अघि बढाएको जनाएको छ।
अनुगमनका क्रममा कार्यालयबाट ४३७ थान राहदानी र करिब ७ लाख ९० हजार रुपैयाँ नगद बरामद गरिएको बताइएको छ। बरामद नगदसँग सम्बन्धित रसिद वा आधिकारिक विवरण फेला नपरेको सरोज यादवले जानकारी दिए।
प्रधानमन्त्री कार्यालयबाट प्राप्त सूचनाको आधारमा कारबाही प्रक्रिया अघि बढाइएको उनले बताए। मन्त्रालयले सम्बन्धित म्यानपावर कार्यालय सिल गर्ने तयारीसमेत गरेको छ।
यसैबीच, वैदेशिक रोजगारीसँग सम्बन्धित कुनै पनि गुनासो वा शंका भए मन्त्रालयलाई जानकारी गराउन सर्वसाधारणसँग आग्रह गरिएको छ।













