
काठमाडौं । नेपाली मूलका बेलायती व्यवसायी तथा हिमालय जेटका संस्थापक दीपेन्द्र गुरुङले नेपाललाई विश्व पर्यटन र अन्तर्राष्ट्रिय हवाई सम्पर्कको केन्द्र बनाउने लक्ष्यसहित महत्वाकांक्षी योजना अगाडि सारेका छन्। विश्व फुटबलका चर्चित हस्ती डेभिड बेकह्याम, इन्टर मियामी सीएफ र स्टार खेलाडी लियोनल मेसीसँग जोडिएको सहकार्यको अवसरलाई उनले नेपालको पर्यटन प्रवर्द्धनका लागि ऐतिहासिक कदमको रूपमा व्याख्या गरेका छन्।
सामाजिक सञ्जालमा डेभिड बेकह्यामसँगको तस्वीर सार्वजनिक गर्दै गुरुङले हिमालय जेट र इन्टर मियामीबीचको सहकार्यले नेपाललाई विश्वमञ्चमा अझ प्रभावशाली रूपमा प्रस्तुत गर्न सक्ने बताएका हुन्। उनका अनुसार यो पहलको उद्देश्य नेपाललाई विश्वकै नम्बर १ पर्यटकीय गन्तव्यका रूपमा स्थापित गर्नु हो।
गुरुङले नेपाललाई विश्वका आठ अग्ला हिमालहरूको घर भएको उल्लेख गर्दै दशकौँदेखि गृहयुद्ध, राजदरबार हत्याकाण्ड, भूकम्प, महामारी, भ्रष्टाचार र राजनीतिक अस्थिरताले थलिएको पर्यटन क्षेत्रलाई पुनर्जीवित गर्ने समय आएको बताएका छन्। उनले नेपाललाई पुनः विश्वभरका लाखौँ पर्यटकको “बकेट लिस्ट” गन्तव्य बनाउन सकिने विश्वास व्यक्त गरेका छन्।
बेकह्याम अमेरिकी फुटबल क्लब इन्टर मियामीका सहमालिक हुन् भने लियोनल मेसी सोही क्लबका कप्तानका रूपमा खेलिरहेका छन्। गुरुङले मेसी र बेकह्यामजस्ता विश्वप्रसिद्ध व्यक्तित्वसँगको सहकार्यले नेपालको पर्यटन, अन्तर्राष्ट्रिय पहिचान र हवाई सेवा क्षेत्रमा नयाँ ऊर्जा थप्ने बताएका छन्।
बेलायतमा बसोबास गर्दै आएका गुरुङले स्थापना गरेको हिमालय जेटले बेलायतलाई आधार बनाएर नेपाल, भारत, युरोप, अमेरिका र अस्ट्रेलियाबीच लामो दूरीका ‘प्रिमियम’ उडान सञ्चालन गर्ने योजना अघि बढाएको छ। कम्पनीले आगामी सेप्टेम्बरदेखि व्यापारिक उडान सुरु गर्ने तयारी गरिरहेको जनाएको छ।
यसैबीच गुरुङले अमेरिकी जहाज निर्माता कम्पनी बोइङको भ्रमण गरी हिमालय जेटका लागि आवश्यक जहाज र सम्भावित सहकार्यबारे छलफल गरेका छन्। बोइङले हिमालय जेटलाई सहयोग गर्ने संकेत दिएको बताइएको छ। बोइङ भ्रमणका क्रममा गुरुङ आफ्ना आमाबाबुसहित सहभागी भएका थिए भने कम्पनीले गुरुङ परिवारको सम्मानमा विशेष रात्रिभोजसमेत आयोजना गरेको थियो।
हिमालय जेटले काठमाडौं, नयाँदिल्ली र मुम्बईलाई लन्डन, पेरिसलगायत युरोपेली शहरसँग सिधा प्रिमियम उडानमार्फत जोड्ने लक्ष्य राखेको छ। आगामी चरणमा अमेरिका र अस्ट्रेलियासम्म सेवा विस्तार गर्ने कम्पनीको योजना रहेको छ।
कम्पनीका अनुसार हाल नेपाल र भारत यात्रा गर्दा यात्रुले लामो ट्रान्जिट र झन्झटपूर्ण यात्रा गर्नुपरेको अवस्था अन्त्य गर्दै सिधा तथा सुविधायुक्त उडान उपलब्ध गराइनेछ। विशेषगरी हिमाली क्षेत्र भ्रमण गर्न चाहने युरोपेली पर्वतारोही र साहसिक पर्यटकलाई लक्षित गर्दै लक्जरी यात्रा सेवा, होटल तथा पर्यटन प्याकेजसमेत सञ्चालन गर्ने योजना रहेको जनाइएको छ।
हालैको राजनीतिक परिवर्तनपछि नेपालमा स्थिर सरकार बन्ने अपेक्षासँगै विदेशमा रहेका नेपाली मूलका व्यवसायीहरू उत्साहित भएको गुरुङको भनाइ छ। उनले “Visit Nepal 2028” राष्ट्रिय पर्यटन अभियान सुरु गर्न सरकारलाई प्रस्तावसमेत गरेका छन्।
गुरुङका अनुसार लन्डन, पेरिस, फ्र्याङ्कफर्ट, म्याड्रिड, लिस्बन, सिड्नी, मेलबर्न र पर्थसँग प्रत्यक्ष हवाई सम्पर्क स्थापना भएमा नेपालमा वार्षिक करिब १० लाख यात्रु भित्र्याउन सकिने अनुमान गरिएको छ, जसमा पाँच लाखभन्दा बढी विदेशी पर्यटक हुने अपेक्षा गरिएको छ।
उनले प्रत्यक्ष उडानमार्फत लन्डन–काठमाडौं यात्रा करिब ९ घण्टा ४५ मिनेट तथा युरोप–काठमाडौं यात्रा करिब ८ घण्टा ४५ मिनेटमा सम्भव हुने बताएका छन्। यसले नेपालको पर्यटन, होटल, रिसोर्ट, ट्रेकिङ, साहसिक खेल, हस्तकला, आतिथ्य सेवा, ग्रामीण पर्यटन र हवाई कार्गो क्षेत्रमा ठूलो आर्थिक प्रभाव पार्ने अपेक्षा गरिएको छ।
गुरुङका अनुसार पर्यटन क्षेत्रले दीर्घकालमा नेपालको कुल गार्हस्थ उत्पादन (GDP) मा २५ देखि ३० प्रतिशतसम्म योगदान दिन सक्ने तथा एक लाखभन्दा बढी रोजगारी सिर्जना हुने सम्भावना रहेको छ।
साथै हिमालय जेटले विश्वभर रहेका नेपालीलाई सहज रूपमा मातृभूमिसँग जोड्न “Fly Now Pay Later (FNPL)” टिकटिङ सुविधा पनि सुरु गर्ने योजना बनाएको जनाएको छ।
गुरुङले जिम्मेवार हवाई सम्पर्कमार्फत संयुक्त राष्ट्रसंघका दिगो विकास लक्ष्यहरू (SDGs) लाई समर्थन गर्दै हिमालय क्षेत्रप्रति विश्वको ध्यान पुनः केन्द्रित गर्ने लक्ष्य रहेको उल्लेख गरेका छन्। उनका अनुसार हिमालय जेट नेपालका लागि पर्यटन, अन्तर्राष्ट्रिय हवाई सम्पर्क र आर्थिक समृद्धिको वास्तविक “गेम चेन्जर” बन्न सक्छ।

















