ललितपुर, २७ बैशाख: राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले आफ्नो पार्टीका सांसदहरूलाई उत्प्रेरित गर्दै लोकप्रियताको आडमा जनताको माग र मुद्दालाई छायाँमा पार्ने हामीलाई छुट छैन भन्नुभएको छ।
पार्टीको प्रशिक्षण विभागले ललितपुरको जावलाखेलमा आयोजना गरेको प्रशिक्षणको समापन समारोहमा मन्तव्य राख्नुहुँदै सभापति लामिछानेले हामीले सामाजिक प्रतिष्ठालाई सफलताको मानक बनाउनेमा भन्दा कानून बनाउने जिम्मेवारीमा काम गर्नु छ भन्नुभएको हो।
“हामीले हाम्रो पहुँचको लडाइँ लड्यौँ भने देशले जित्दैन, विधि र कानून बनाउँदा जनताको हीत र भावनालाई सोच्नु होला, सरकारले सोचेर कदम चालिरहेको छ, आजसम्म हामीले र सरकारले गरेका कुराबाट दु:ख मनाउन गर्नुपर्ने अवस्था छैन, कतिपय कानून निर्माणलाई फास्ट ट्रयाकमा लिएर जान अध्यादेशहरु आएका हुन्, नीतिगत कमजोरी, विकासका लागि सुधारका लागि अध्यादेश आएका हुन्, देश र नागरिकलाई अप्ठ्यारो पर्ने कुनै निर्णय गरेका छैनौं, जनताको माया र देशको भविष्यप्रति हामी चिन्तित छौँ, कतिपय विश्लेषक र राजनीतिज्ञलाई देश ट्रयाक बाहिर गयो भन्ने पनि लागेको पनि हुन सक्छ, तर त्यस्तो भएको छैन।” सभापति लामिछानेले भन्नुभयो।
उहाँले नेपाली जनताले परिवर्तन गर भनेर रास्वपालाई जनमत दिएको भन्दै चुनाव जित्दैमा हामीले सर्वगुण सम्पन्न प्राप्त गरेका हैनौँ भनेर सोच्न सांसदहरूलाई आग्रह गर्नुभयो।
“हामी जीवनी लेख्ने यात्रामा हैन, इतिहास लेख्न हिडेका हौँ यसका लागि हामीलाई प्रशिक्षण चाहिन्छ, दलहरूले अनवरत संघर्ष गरेर एकतन्त्रीय शासन ढालेका हुन्, जीवन जोखिममा थियोे, त्यस्तो व्यवस्थालाई चुनौती दिएर परिवर्तनको यात्रामा होमिएका थिए, माओवादीले ज्यान जोखिममा राखेर अनवरत संघर्ष गरे, आस्था र बिचारले हामी सहमत हुन नसकेपनि संघर्ष गरेर यहाँ आइपुगेका छौँ, हामीले सजिलो संघर्षबाट यो राजनीतिक हैसियत प्राप्त गरेका छौँ, हामीले धेरै काम गर्नु छ, यो पार्टीमा योगदानको मुल्य माग्ने वेला भएको छैन, कसैको परिवारले पनि दु:ख पाउनु परेको छैन, व्यवस्था बदल्ने मात्रै हैन, अवस्था बदल्ने क्रान्ति अवको आवश्यक छ, त्यसका लागि जनताले हामीलाई परिवर्तनको जिम्मेवारी दिएर पठाएका हैनन्।” सभापति लामिछानेले भन्नुभयो।
हामीले विनम्रतापूर्वक गिड्गिडाहट गरेर परिवर्तनको लागि हिजो मात्रै मत मागेका हौं भन्दै सभापति लामिछानेले भाइरलको दुनियाँ र चर्चा बटुल्ने अभियानमा हैन संसदका समितिमा विद्येयकमा काम गर्नु पर्छ भन्नुभयो।
“हिजोका राजनीतिक दलले गरेका संघर्ष भन्दा हामीले गरेको संघर्ष कम छ,हामीलाई जनताले पत्याएका हुन्, विभिन्न राजनीतिक दलहरूले आफ्नो दल छोडेर हामीलाई मत दिएका छन्, उनीहरुको मानमर्दन गर्ने काम गर्नु हुँदैन, आमनागरिक , समाज र देशले हामीलाई हेरिरहेको छ, सांसदको लोगोको भारी धेरै ठूलो छ, संसद जीवनी लेख्ने हैन, इतिहास लेख्ने ठाउँ हो।” उहाँले भन्नुभयो।
उहाँले पार्टीको लाइनभन्दा बाहिर गएर झुन्डमा विश्वास नगर्नुहोला भन्दै सांसदहरूलाई हामीले नेतृत्वका रुपमा तपाईंहरुबाट इतिहास बदल्ने संकल्प गरिरहेका छौँ भन्ने धारणा राख्नुभयो।
“म यता र उताको भनेका कारण मन्त्री नबनेकाहरु पनि हुनुहुन्छ, त्यस्तो नगर्नुहोला, सत्तरी वर्ष अगाडि मिल्नु पर्ने व्यक्तिहरु झगडा गरेका कारण हामी सत्तरी वर्ष पछि परेका छौँ, नेतृत्वले देखेको र तपाईंले देखेको गन्तव्य फरक पर्यो भने हामी इतिहास बदल्न सक्दैनौं, सांसदलाई विद्येयक बाहेक अरु थाहा भएर हुँदैन, यी सबै कुरालाई मध्यनजर गरेर अगाडि बढ्नुहोला, हाम्रो कारणले एउटा पनि परिवार सुकुम्बासी बन्नु परेको छैन यो त पुराना राजनीतिक दलहरूले खडा गरेको भोट बैकका कारण समस्या आएको हो, भूमीहीनले अधिकार नपाएसम्म हाम्रो छाती थापिएकै छ, सुकुम्बासी साथीहरूलाई उचाल्नु आवश्यक छैन । अधिकार हाम्रै सरकारले दिन्छ।” उहाँले भन्नुभयो।
उहाँले झुटा बाचा गरेर चुनाव जित्न चाहाँदैनौँ भनेर हामीले चुनावमै भनेका छौँ भन्नुभयो।
“काठमाडौंमा भएको सुकुम्बासीको समस्या जस्तो देशैभरकाे समस्या हैन, अन्य ठाउँका समस्यालाई उच्चस्तरीय आयोग बनाएर स्थायी समाधान गर्छौं, समस्या समाधान रास्वपाको सरकारले गर्छ, संविधान बन्दा रास्वपाको राजनीतिक प्रतिनिधित्व थिएन, तर संविधानमा लेखिएको कुराको मर्मको सुनिश्चितता गर्न हामी लाग्छौँ।” उहाँले भन्नुभयो।
उहाँले संवैधानिक व्यवस्था अनुसार भएको सिफारिस अनुसार प्रधानन्यायाधीशको सिफारिस भएको छ भन्दै हामीलाई राजनीतिक भागबन्डामा विश्वास छैन भन्नेमा जोड दिनुभयो।
“हामी विधि र संविधानलाई मानेर काम गर्छौँ, न्यायलयका बिषयलाई टसल गरेर लाभ हासिल गर्नु छैन, मेरो गर्धन न्यायलयमा नै छ, न्यायलयलाई देखाएर सडकमा रमिता गर्नुछैन,पीडकले तँलाई अदालतमा देखाइदिउँला भन्ने अवस्था आउनु हुँदैन, आम नागरिकलाई कसरी न्याय दिन सकिन्छ भनेर कागज बन्दी निर्णयले सडकमा अन्याय नहोस्, संविधानले गरेको व्यवस्थालाई टेकेर भएको व्यवस्था असंवैधानिक हुँदैन, संविधानमा भएको व्यवस्थालाई आफ्नो सहजताका हिसाबले व्याख्या गर्ने छुट कसैलाई छैन।” उहाँले भन्नुभयो।
सभापति लामिछानेले उत्कृष्ट बजेट बनाउने गरी अर्थमन्त्रीसंग छलफल भएको छ भन्दै सिङ्गै देश हाम्रो निर्वाचन क्षेत्र हो र राज्यको सामर्थ्य बनाउन हामीले पाँच वर्ष काम गर्नेछौं भन्नुभयो।
“हामी इतिहास लेखिने ठाउँमा छौँ, विश्व राजनीतिले नयाँ मोड लिँदै गरेको अवस्थामा हामीले नेतृत्व प्राप्त गरेको हो, संसदीय अभ्यासलाई मर्यादित बनाएर जनताको जीवन परिवर्तन गर्नलाई हामीले नेतृत्व लिएको हो, पार्टीको पदाधिकारी र मन्त्रीमा रहनु भन्दा पनि अवको राजनीतिलाई परिवर्तन गर्न योगदान दिनु ठूलो कुरा हो, हामी कसरी परिवर्तन गर्न सक्छौं भन्ने कुरा महत्त्वपूर्ण हुन्छ।” उहाँले भन्नुभयो ।
सभापति लामिछानेले
सरकारका कामबाट आम जनमानस राजनीतिक बृतमा सकरात्मक सन्देश गएको छ भन्दै जिम्मेवार राजनीतिज्ञ र सांसदलाई प्रशिक्षण र सिकाईको आवश्यकता जहिलेपनि आवश्यक छ भन्नुभयो।
“सिक्ने र सिकाउने प्रक्रिया निरन्तरता हो, हामी थिति, विधि बसाल्ने र अव्यवस्थालाई बदल्ने क्रमभंगतामा छौँ, मानवअधिकार र विधिको शासन कायम गर्नेक्रमा छौँ, केही साथीहरूले बोल्दा भएको कमजोरीका आधारमा रास्वपा यही हो भन्ने सोच्नु उचित हैन, देशको हीतमा फरक दलमा भएकाहरु पनि सहकार्य गर्न सक्छौं, अनावश्यक दाँत बजाउने गलत अफवाह फैल्याएर राजनीतिक लाभ लिने प्रयत्न नगर्नुहोला, स्वस्थ्य आलोचना स्वीकार्य छ, खबरदारी र आलोचना गर्ने छुट छ, सुन्न हामी तयार छौँ।” उहाँले भन्नुभयो।
सभापति लामिछानेले प्रतिपक्षको आवाज दरो र खरो हुँदा सत्तापक्ष बलियो हुन्छ र हामीलाई मुलुकको हीतमा लाग्न प्रेरित गर्नेछ भन्ने धारणा राख्नुभयो। —-












