
काठमाडौं । इस्तानबुलबाट काठमाडौं अवतरण गरेको टर्किस एयरलाइन्सको विमानमा आगलागीको संकेत देखिएपछि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आकस्मिक उद्धार अभियान सञ्चालन गरिएको छ।
टिके–७२६ कल साइन रहेको उक्त विमान धावनमार्गमा अवतरण गर्नेबित्तिकै चक्कातर्फ आगो देखिएको विमानस्थल स्रोतले जनाएको छ। त्यसपछि विमानस्थलमा उच्च सतर्कता अपनाउँदै दमकल र उद्धार टोली तत्काल परिचालन गरिएको थियो।
विमानस्थलका एक अधिकारीका अनुसार दमकलको सहयोगमा केही समयमै आगो नियन्त्रणमा लिइएको हो। यात्रुहरूको सुरक्षालाई ध्यानमा राख्दै आपतकालीन ढोका प्रयोग गरेर सबैलाई सुरक्षित रूपमा बाहिर निकालिएको उनले बताए।
विमानमा ४ बालबालिकासहित २७७ जना यात्रु सवार रहेको जनाइएको छ। सबै यात्रु सुरक्षित रहेको विमानस्थल प्रशासनले जनाएको छ।
घटनापछि विमान धावनमार्गमै रोकिएकाले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको रनवे प्रभावित भएको छ। त्यसका कारण केही समयका लागि अन्तर्राष्ट्रिय उडान तथा अवतरण प्रभावित बनेको विमानस्थल स्रोतले जानकारी दिएको छ।














