
काठमाडौं । नेपाल पर्यटन बोर्ड ले भारतीय पर्यटकलाई नेपाल भ्रमणमा कुनै नयाँ रोक, कडाइ वा सीमितता नलगाइएको स्पष्ट पारेको छ । पछिल्ला दिनमा सामाजिक सञ्जाल र विभिन्न डिजिटल माध्यममा फैलिएका ‘३० दिन मात्रै बस्न पाइने’, ‘नयाँ परिचयपत्र अनिवार्य गरिएको’ तथा ‘समय नाघे सवारी जफत हुने’ जस्ता सूचनाहरू पूर्ण रूपमा भ्रामक भएको बोर्डले जनाएको हो ।
बोर्डले बुधबार सार्वजनिक गरेको विज्ञप्तिमा नेपाल र भारत बीचको खुला सीमा प्रणाली तथा पुरानो द्विपक्षीय समझदारीमा कुनै परिवर्तन नभएको उल्लेख गरेको छ । भारतीय नागरिकका लागि नेपाल यात्रा अहिले पनि सहज, सुरक्षित र मैत्रीपूर्ण रहेको बोर्डको भनाइ छ ।
पर्यटन बोर्डका अनुसार भारतीय पर्यटकको बसाइ अवधिमा कुनै नयाँ सीमा तोकिएको छैन । सीमाबाट नेपाल प्रवेश गर्दा थप कागजात अनिवार्य गरिएको भन्ने समाचार पनि आधारहीन रहेको स्पष्ट पारिएको छ ।
त्यसैगरी, स्थलमार्ग हुँदै निजी सवारीसाधनमा नेपाल आउने विदेशी पर्यटकका लागि सरकारले नयाँ डिजिटल सहजीकरण प्रणाली सञ्चालनमा ल्याएको जानकारी पनि बोर्डले दिएको छ । भन्सार विभाग द्वारा विकसित प्रणालीमार्फत अस्थायी सवारी अनुमति र राजस्व भुक्तानी अब अनलाइनबाटै गर्न सकिने व्यवस्था गरिएको छ ।
बोर्डले यस व्यवस्थाले सीमा क्षेत्रमा हुने झन्झट घट्ने र पर्यटकको यात्रा अनुभव थप सहज बन्ने अपेक्षा गरेको छ ।
साथै, अपुष्ट समाचार र भ्रमपूर्ण सामग्री नफैलाउन आग्रह गर्दै बोर्डले पर्यटनसम्बन्धी सूचना सरकारी आधिकारिक स्रोतबाट मात्रै लिन अनुरोध गरेको छ ।
नेपाल पर्यटन बोर्डले नेपाल भारतीयसहित विश्वभरका पर्यटकका लागि खुला, सुरक्षित र आतिथ्यपूर्ण गन्तव्य रहेको दोहोर्याएको छ ।













