काठमाडौं, जेठ १३ — संविधान संशोधन प्रक्रियासँग सम्बन्धित छलफलका लागि गठित कार्यदललाई नेपाली क्रिश्चियन समुदायले आफ्ना सरोकार तथा सुझाव समेटिएको ज्ञापनपत्र औपचारिक रूपमा बुझाएको छ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयअन्तर्गत रहेको संविधान छलफल तथा बहस कार्यदलसँग सिंहदरबारमा भएको भेटका क्रममा समुदायका प्रतिनिधिहरूले तयार पारेको सुझावपत्र हस्तान्तरण गरेका हुन्।

सरकारले गत चैत १७ गते संविधान संशोधनसम्बन्धी अध्ययन तथा परामर्शका लागि टास्कफोर्स गठन गरेपछि विभिन्न नागरिक समूहहरूले आ–आफ्नो तहमा छलफल र समन्वयका गतिविधि अघि बढाएका थिए। यसै क्रममा नागरिक सरोकार नेपाललगायतका संस्थाहरूले समुदायस्तरमा संवाद र समन्वयलाई तीव्रता दिएका थिए।

यसपछि संयुक्त राष्ट्रिय नेपाली चर्च परिषद (UNNCC) र राष्ट्रिय मण्डली संगति नेपाल (NCFN) को सहकार्यमा जेठ १२ गते काठमाडौँमा सरोकारवालाहरूको संयुक्त बैठक सम्पन्न भएको थियो। उक्त बैठकमा संविधान संशोधनजस्तो राष्ट्रिय महत्वको विषयमा साझा धारणा निर्माण गर्नु आवश्यक रहेकोमा जोड दिइएको थियो।

उक्त छलफलमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का केन्द्रीय सदस्य पुरन गिरीले समुदायलाई संगठित रूपमा आफ्ना सुझावहरू प्रस्तुत गर्न आग्रह गर्दै राष्ट्रिय नीतिगत बहसमा सक्रिय सहभागिता जनाउनुपर्ने धारणा व्यक्त गरेका थिए।

त्यस्तै, नागरिक सरोकारका सचिव तथा UNNCC का सामाजिक अभियान विभाग संयोजक विदुर अधिकारीले प्रारम्भिक कार्यपत्र प्रस्तुत गर्दै नैतिक तथा सामाजिक पक्षसँग सम्बन्धित विषयमा धार्मिक समुदायको स्पष्ट र एकीकृत दृष्टिकोण आवश्यक रहेको उल्लेख गरेका थिए। सोही प्रस्तुति र छलफलपछि विभिन्न संस्थाहरूबीच समन्वय गर्दै संयुक्त सुझावपत्र तयार पारिएको जनाइएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय