काठमाडौं । सरकारले आगामी आर्थिक वर्ष २०८३/८४ को बजेटमार्फत राजधानी काठमाडौंको दीर्घकालीन शहरी विकासका लागि ‘भिजन काठमाडौं–२०४०’ योजना कार्यान्वयनमा ल्याउने घोषणा गरेको छ। उपत्यकाको बढ्दो जनघनत्व, यातायात चाप र सहरी व्यवस्थापनका चुनौतीलाई सम्बोधन गर्दै सरकारले एकीकृत तथा आधुनिक पूर्वाधार विकासलाई प्राथमिकतामा राखेको हो।

शुक्रबार संघीय संसदमा बजेट प्रस्तुत गर्दै अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले काठमाडौं उपत्यकालाई व्यवस्थित, प्रविधिमैत्री र दिगो सहरका रूपमा विकास गर्न ‘भिजन काठमाडौं–२०४०’ अन्तर्गत विभिन्न पूर्वाधार आयोजना अघि बढाइने जानकारी दिए।

योजनाअनुसार उपत्यकाभित्र अण्डरपास, फ्लाइओभर, सडक चोक सुधार, नदी करिडोर विकास, सार्वजनिक पार्क निर्माण, फोहोरमैला व्यवस्थापन तथा युटिलिटी डक्ट निर्माण गरिनेछ। साथै, विद्युतीय तथा सञ्चारका तारहरू भूमिगत गर्ने कार्यक्रमलाई समेत तीव्रता दिइने सरकारको योजना छ।

सरकारले अब शहरी यातायात सुधार, खुला क्षेत्र संरक्षण तथा पूर्वाधार विस्तारका कार्यक्रमहरूलाई छुट्टाछुट्टै नभई एकीकृत ढंगले सञ्चालन गर्ने जनाएको छ।

यसै योजनाको महत्वपूर्ण पक्षका रूपमा काठमाडौं उपत्यकामा ‘स्मार्ट अर्बन मोबिलिटी’ कार्यक्रम सुरु गरिने भएको छ। कार्यक्रम अन्तर्गत विद्युतीय सार्वजनिक बस सञ्चालन, चार्जिङ स्टेशन स्थापना, स्मार्ट बसपार्क निर्माण, सवारी ट्र्याकिङ प्रणाली तथा संस्थागत व्यवस्थापन सुदृढीकरणका कार्यहरू समावेश गरिएको छ।

यता, सरकारले पर्यटकीय राजधानी पोखराको सार्वजनिक यातायात प्रणालीलाई पनि विद्युतीय माध्यममा रूपान्तरण गर्ने योजना सार्वजनिक गरेको छ। बजेटमा परम्परागत इन्धनबाट सञ्चालन हुँदै आएका सार्वजनिक सवारी साधनलाई क्रमशः विस्थापित गर्दै पूर्ण विद्युतीय बस सेवा सञ्चालन गर्ने व्यवस्था गरिएको उल्लेख छ।

सरकारले काठमाडौं र पोखरा दुवै सहरमा प्रदूषण न्यूनीकरण, दिगो शहरी विकास तथा वातावरणमैत्री सार्वजनिक यातायात प्रवर्द्धनका लागि आवश्यक पूर्वाधार निर्माणमा विशेष बजेट विनियोजन गरेको जनाएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय