ललितपुर, जेठ १६ — ललितपुरको पत्रकारिता इतिहासलाई संरक्षण गर्ने प्रयासस्वरूप तयार पारिएको ‘ललितपुरको पत्रकारिता इतिहास’ पुस्तक शनिबार औपचारिक रूपमा सार्वजनिक गरिएको छ। नेपाल पत्रकार महासंघ ललितपुर शाखाको २५औँ वार्षिक साधारणसभाको मुख्य आकर्षण बनेको उक्त विमोचन समारोहले पत्रकारिताको विगत र वर्तमानलाई एउटै मञ्चमा जोडेको देखियो।

पुस्तकको विमोचन पूर्वप्रधानन्यायाधीश प्रकाशमान सिंह राउतले गरे। उनले पुस्तकलाई केवल प्रकाशन नभई ललितपुरको सञ्चार इतिहासको “जीवित दस्तावेज” भएको टिप्पणी गरे। स्वतन्त्र प्रेसले लोकतन्त्रलाई बलियो बनाउने र नागरिक अधिकारको रक्षा गर्ने उनको भनाइ थियो।

कार्यक्रमको अर्को महत्वपूर्ण पक्ष भने पत्रकारितामा योगदान पुर्‍याएका व्यक्तित्वहरूको सम्मान रह्यो। सात पत्रकारलाई विभिन्न पुरस्कारमार्फत सम्मान गरिएको थियो, जसले समारोहलाई औपचारिकताभन्दा बाहिर भावनात्मक र प्रेरणादायी बनाएको थियो।

क्रियाशील पत्रकारितामा लामो समयदेखि सक्रिय राजधानी दैनिकका डिल्ली आचार्य र रातोपाटीका नरेश ज्ञवालीलाई हीरा–सिद्धि क्रियाशील पत्रकारिता पुरस्कार प्रदान गरियो। स्वास्थ्य सचेतनामूलक रिपोर्टिङमार्फत समाजमा प्रभाव छोड्दै आएकी दियोपोष्टकी रीता बुढाथोकीले सम्राट आचार्य स्मृति पत्रकारिता पुरस्कार प्राप्त गरिन्।

ललितपुर केन्द्रित विषयवस्तु उजागर गर्ने योगदानका लागि नेपाल टेलिभिजनका ईश्वर महर्जन र मिडियासञ्चारडटकमका केदारनाथ दाहाललाई ललितपुर पत्रकारिता पुरस्कार प्रदान गरियो। त्यस्तै, नयाँसडक दैनिकका ज्ञानप्रसाद पौडेललाई धर्मरत्न शाक्य जीवन्त पत्रकारिता पुरस्कार र नेपालखबरका जनार्दन पोखरेललाई राधा–लक्ष्मण क्रियाशील पत्रकारिता पुरस्कार प्रदान गरिएको थियो।

महासंघ ललितपुर शाखाका अध्यक्ष रामहरि कार्कीले पछिल्लो डेढ वर्षमा पत्रकारहरूको सीप विकास र पेशागत क्षमता अभिवृद्धिका लागि तालिम तथा विभिन्न कार्यक्रमहरू सञ्चालन गरिएको जानकारी दिए। उनले आगामी दिनमा पनि यस्ता प्रयासलाई निरन्तरता दिइने स्पष्ट पारे।

साधारणसभाको बन्द सत्रमा सचिव दीपक अर्यालले प्रस्तुत गरेको संगठनात्मक प्रतिवेदन र कोषाध्यक्ष कृष्ण पौडेलले प्रस्तुत गरेको आर्थिक विवरण सर्वसम्मत रूपमा पारित गरिएको शाखाले जनाएको छ।

यसै अवसरमा पत्रकारितालाई अध्ययन–अनुसन्धानतर्फ पनि उन्मुख गराउने उद्देश्यसहित आगामी वर्षदेखि एक महिला र एक पुरुष पत्रकारलाई शोधपत्र लेखनका लागि छात्रवृत्ति प्रदान गर्ने नयाँ योजना सार्वजनिक गरिएको छ।

कार्यक्रममा महासंघका पदाधिकारी, पूर्वअध्यक्ष, सल्लाहकार, विभिन्न पत्रकार संगठनका प्रतिनिधि तथा साधारण सदस्यहरूको उपस्थिति रहेको थियो।

अन्त्यमा, महासंघ ललितपुर शाखाले साधारणसभा सफल बनाउन सहयोग गर्ने सबै अतिथि, सदस्य तथा सञ्चारकर्मीप्रति आभार व्यक्त गर्दै पत्रकारिताको मर्यादा र पेशागत सशक्तीकरणमा निरन्तर सहकार्यको अपेक्षा व्यक्त गरेको छ।

त्यसैगरी, वर्तमान कार्यसमिति अन्तर्गत अध्यक्ष रामहरि कार्की, उपाध्यक्ष श्याम टण्डुकार, महिला उपाध्यक्ष केशरी पुन, सचिव दीपक अर्याल, सहसचिव नारायण लिंखा देवान, कोषाध्यक्ष कृष्ण पौडेल तथा सदस्यहरू अनिल श्रेष्ठ, शिवहरि घिमिरे, कुशल बोगटी, पासाङ घिसिङ, विशु गुरुड रामप्रसाद ढकाल, केशव घिमिरे र शिशिरकुमार लामाको सहभागिता रहेको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय