ललितपुर । कोज्योसोम गाउँपालिकामा अध्ययनरत विद्यार्थीहरूमा स्वस्थ जीवनशैलीको विकास गर्ने उद्देश्यले तीनदिने विद्यालय आयुर्वेद तथा योग शिक्षा कार्यक्रम सम्पन्न भएको छ। कोंज्योसोम गाउँपालिका अन्तर्गत रहेको चौघरे स्वास्थ्य चौकीमा जेठ १५ देखि १७ गतेसम्म सञ्चालन गरिएको कार्यक्रममा गाउँपालिकाभित्रका विभिन्न विद्यालयका २४ जना विद्यार्थीहरूको सहभागिता रहेको थियो।

कार्यक्रममा सहभागी विद्यार्थीहरूलाई योग र आयुर्वेदको महत्वबारे व्यवहारिक तथा सैद्धान्तिक ज्ञान प्रदान गरिएको थियो। प्रत्येक दिनको कार्यक्रम योगाभ्यासबाट सुरु गरिएको थियो। योगाभ्यासअन्तर्गत सूक्ष्म व्यायाम, सूर्य नमस्कार, विभिन्न आसन तथा प्राणायामका अभ्यासहरू गराइएको थियो। प्रशिक्षकहरूले विद्यार्थीहरूलाई योगका विधिहरू सिकाउनुका साथै नियमित योगाभ्यासले शारीरिक तथा मानसिक स्वास्थ्यमा पार्ने सकारात्मक प्रभावबारे जानकारी दिएका थिए।

कार्यक्रममा दैनिक योगाभ्यासका फाइदाबारे विशेष चर्चा गरिएको थियो। योगले शरीरका मांसपेशीहरूलाई बलियो बनाउने, शरीरको लचिलोपन बढाउने, तौल नियन्त्रणमा सहयोग पुर्‍याउने, तनाव र चिन्ता कम गर्ने, स्मरणशक्ति अभिवृद्धि गर्ने तथा शरीरमा ऊर्जा प्रदान गर्ने जस्ता विविध लाभहरूका बारेमा विद्यार्थीहरूलाई जानकारी गराइएको थियो। आधुनिक जीवनशैलीका कारण बढ्दै गइरहेका स्वास्थ्य समस्याहरूबाट बच्न योग प्रभावकारी माध्यम हुन सक्ने विषयमा समेत सहभागीहरूलाई अवगत गराइएको थियो।

तीनदिने कार्यक्रममा आयुर्वेद र यसका आधारभूत सिद्धान्तबारे पनि कक्षा सञ्चालन गरिएको थियो। विद्यार्थीहरूले स्वस्थकर तथा अस्वस्थकर जीवनशैलीबीचको भिन्नता, सन्तुलित आहारको महत्व, दैनिक जीवनमा अपनाउनुपर्ने स्वास्थ्यकर बानी तथा आचरणका बारेमा जानकारी प्राप्त गरेका थिए। आयुर्वेदले मानव जीवनलाई स्वस्थ, सन्तुलित र अनुशासित बनाउन पुर्‍याउने योगदानबारे प्रशिक्षकहरूले सहजीकरण गरेका थिए।

यसैगरी कार्यक्रममा ऋतुचर्या सम्बन्धी विशेष कक्षा पनि सञ्चालन गरिएको थियो। विभिन्न ऋतुहरूमा खानुपर्ने तथा नखानुपर्ने खाद्यपदार्थ, अपनाउनुपर्ने व्यवहार तथा जीवनशैलीका बारेमा विद्यार्थीहरूलाई जानकारी दिइएको थियो। मौसमअनुसार जीवनशैली र खानपानमा परिवर्तन गर्न सके विभिन्न रोगहरूबाट बच्न सकिने विषयमा पनि प्रशिक्षण प्रदान गरिएको थियो।

दैनिक भान्सामा प्रयोग हुने जडीबुटीहरूको परिचय तथा तिनको औषधीय महत्वबारे पनि सहभागी विद्यार्थीहरूलाई जानकारी गराइएको थियो। बेसार, अदुवा, ज्वानो, मेथी, तुलसी लगायतका जडीबुटीहरूको स्वास्थ्य संरक्षण तथा रोग प्रतिरोधात्मक क्षमता वृद्धि गर्न हुने उपयोगबारे प्रशिक्षण दिइएको थियो।

कार्यक्रमका क्रममा विद्यालयको पाठ्यक्रममै योग तथा आयुर्वेद विषय समावेश रहेको जानकारी दिँदै विद्यार्थीहरूलाई सिकेका ज्ञान र सीपलाई व्यवहारमा उतार्न आग्रह गरिएको थियो। सहभागी विद्यार्थीहरूले कार्यक्रमबाट प्राप्त ज्ञानलाई विद्यालय तथा परिवारस्तरसम्म विस्तार गर्ने प्रतिबद्धता व्यक्त गरेका थिए।

कार्यक्रमका अवसरमा आयुर्वेद तथा वैकल्पिक चिकित्सालय ललितपुरका काार्यालय प्रमुख डा पुनम नेपालले विद्यालय तहबाटै योग र आयुर्वेदप्रति सचेतना फैलाउनु अत्यन्त आवश्यक रहेको बताइन्। उनले कार्यक्रमबाट विद्यार्थीहरूको जीवनशैलीमा सकारात्मक परिवर्तन आउने, स्वास्थ्यप्रति जिम्मेवार बन्ने तथा भविष्यमा स्वस्थ नागरिक निर्माणमा सहयोग पुग्ने विश्वास व्यक्त गरिन्।

डा. नेपालका अनुसार कार्यक्रमपश्चात विद्यालयहरूमा योग सेवा नियमित रूपमा सञ्चालन हुने अपेक्षा गरिएको छ। यसबाट विद्यार्थीहरूको शारीरिक, मानसिक तथा सामाजिक स्वास्थ्यमा सुधार आउने र स्वस्थ जीवनशैलीको संस्कार विकास हुने विश्वास लिइएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय