काठमाडौं, ५ असार २०८३ – विश्वव्यापी राइड सेयरिङ प्लेटफर्म ‘उबर’ (Uber) ले नेपालमा औपचारिक रूपमा आफ्नो सेवा सुरु गरेको छ। शुक्रबार काठमाडौंमा आयोजित एक विशेष कार्यक्रमका बीच कम्पनीले नेपालमा सेवाको सुरुवात भएको घोषणा गरेको हो।
एक दशकयता दक्षिण एसियामा उबरले प्रवेश गरेको नेपाल पहिलो नयाँ बजार बनेको छ, जसलाई कम्पनीले आफ्नो रणनीतिक विस्तारको महत्त्वपूर्ण कोसेढुङ्गाका रूपमा लिएको छ।
के-के सुविधा उपलब्ध छन्?
नेपालमा उबरले यात्रुहरूको सुविधाका लागि तीन प्रकारका सेवाहरू सञ्चालनमा ल्याएको छ:
उबर गो (Uber Go): किफायती चारपाङ्ग्रे सवारी सेवा।
उबर कम्फर्ट (Uber Comfort): थप सुविधासहितको प्रिमियम चारपाङ्ग्रे सेवा।
उबर बाइक (Uber Bike): छिटो र सहज दुईपाङ्ग्रे सवारी सेवा।
नेतृत्वको भनाइ-
उबरका एसिया–प्रशान्त क्षेत्रका क्षेत्रीय महाप्रबन्धक डोमिनिक टेलरले नेपालको बढ्दो डिजिटल पहुँच र पर्यटन अर्थतन्त्रप्रति उत्साह व्यक्त गर्दै भने, “नेपाललाई उबरको विश्वव्यापी सञ्जालमा स्वागत गर्न पाउँदा हामी गौरवान्वित छौँ। यहाँको गतिशील बजारले हामीलाई थप ऊर्जा दिएको छ।”
सरकारी अधिकारीहरूको स्वागत-
नेपाल सरकारका उच्चपदस्थ अधिकारीहरूले उबरको आगमनले नेपालको यातायात क्षेत्रमा सकारात्मक परिवर्तन ल्याउने विश्वास व्यक्त गरेका छन्।
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सचिव मुकुन्द प्रसाद निरौला: “पर्यटन प्रवर्द्धनका लागि सहज यातायात अपरिहार्य छ। उबरको आगमनले अन्तर्राष्ट्रिय पर्यटकहरूका लागि नेपालमा यात्रा थप सुरक्षित र भरपर्दो बनाउनेछ।”
भौतिक पूर्वाधार मन्त्रालयका सचिव गोपालप्रसाद सिग्देल: “यो आधुनिक र डिजिटल यातायात प्रणालीतर्फको हाम्रो यात्रामा एउटा महत्वपूर्ण उपलब्धि हो। यसले नेपालमा लगानीका लागि अनुकूल वातावरण बनेको सन्देश दिएको छ।”
७० भन्दा बढी देशहरूमा आफ्नो सेवा विस्तार गरिसकेको उबरको नेपाल प्रवेशसँगै, यहाँका यात्रुहरूले अब विश्वस्तरीय प्रविधि, पारदर्शी मूल्य र सुरक्षा सुविधाहरूको अनुभव गर्न पाउनेछन्। यसले नेपालको शहरी यातायातलाई थप व्यवस्थित र समावेशी बनाउन मद्दत पुर्याउने अपेक्षा गरिएको छ।













