नया दिल्ली – भारतका चर्चित सामाजिक अभियन्ता तथा शिक्षाविद् सोनम वाङचुकलाई शनिबार बिहान नयाँ दिल्लीस्थित जन्तर–मन्तरबाट दिल्ली प्रहरीले अस्पतालमा भर्ना गरेको छ। लामो समयदेखि जारी आमरण अनशनका कारण उनको स्वास्थ्यमा गम्भीर असर पर्न थालेपछि चिकित्सकीय उपचारका लागि अस्पताल सारिएको प्रहरीले जनाएको छ।
दिल्ली प्रहरीका अनुसार वाङचुकको स्वास्थ्य अवस्थालाई ध्यानमा राख्दै अदालतको निर्देशन र चिकित्सकीय सल्लाहअनुसार उनलाई आवश्यक उपचारका लागि अस्पताल लगिएको हो। यसअघि दिल्ली उच्च अदालतले पनि उनको दैनिक स्वास्थ्य परीक्षण गर्न निर्देशन दिएको थियो।
घटनापछि जन्तर–मन्तर तथा वरपरका क्षेत्रमा सुरक्षा व्यवस्था कडा पारिएको छ। प्रदर्शनस्थलमा अतिरिक्त प्रहरी परिचालन गरिएको छ र सम्भावित प्रदर्शनलाई मध्यनजर गर्दै निगरानी बढाइएको भारतीय सञ्चारमाध्यमहरूले जनाएका छन्।
यसैबीच, ककक्रोच जनता पार्टी (CJP) का संस्थापक अभिजीत दीपकेले सामाजिक सञ्जाल एक्समार्फत आफूमाथि कुटपिट भएको र प्रहरीले नियन्त्रणमा लिएको आरोप लगाएका छन्। यद्यपि, प्रहरीले वाङचुकलाई अस्पताल पुर्याउनुको उद्देश्य उनको स्वास्थ्य सुरक्षा रहेको स्पष्ट पारेको छ।
सोनम वाङचुक गत करिब तीन सातादेखि आमरण अनशनमा बसेका थिए। उनी परीक्षा प्रणालीमा सुधार, कथित परीक्षा अनियमिततामाथि निष्पक्ष छानबिन तथा सरकारको जवाफदेहिताको माग गर्दै आन्दोलनमा सहभागी भएका थिए।












