काठमाडौं – देशभर जारी अविरल वर्षासँगै विभिन्न जिल्लाका साना नदी तथा खोलामा आकस्मिक बाढी (फ्ल्यास फ्लड) को जोखिम बढेको छ। बाढी पूर्वानुमान महाशाखाले शनिबार सार्वजनिक गरेको सूचनाअनुसार २५ जिल्लामा मध्यम जोखिम रहेकाले स्थानीय बासिन्दा तथा यात्रुहरूलाई विशेष सावधानी अपनाउन आग्रह गरिएको छ।

महाशाखाका अनुसार ताप्लेजुङ, संखुवासभा, सोलुखुम्बु, दोलखा, सिन्धुपाल्चोक, काभ्रेपलाञ्चोक, काठमाडौं, भक्तपुर र ललितपुरका साना नदी तथा खोलामा पानीको बहाव उल्लेख्य रूपमा बढ्न सक्ने सम्भावना रहेको छ। त्यस्तै मकवानपुर, चितवन, पाल्पा, कास्की, तनहुँ, स्याङ्जा, पर्वत, बागलुङ, म्याग्दी, मुस्ताङ, रुकुम पश्चिम, डोटी, बझाङ, कैलाली र कञ्चनपुरका नदीहरूमा पनि आकस्मिक बाढीको मध्यम जोखिम रहेको जनाइएको छ।

यद्यपि, देशका प्रमुख नदीहरू—कोशी, नारायणी, बागमती, कर्णाली, महाकाली तथा तिनका सहायक नदीहरूको बहाव हाल सतर्कता तहभन्दा तल रहेको महाशाखाले जनाएको छ। कन्काई, कमला, बबई, पूर्वी र पश्चिम राप्ती नदीहरू पनि सुरक्षित अवस्थामै रहेका छन्।

आगामी आइतबार र सोमबार कोशी, गण्डकी तथा सुदूरपश्चिम प्रदेशका केही साना नदीहरूमा बहाव अचानक बढ्न सक्ने पूर्वानुमान गरिएको छ। यस कारण नदी किनार तथा तटीय क्षेत्रमा बसोबास गर्ने नागरिकलाई सतर्क रहन र अनावश्यक रूपमा नदी तर्ने वा नदी आसपास नजान आग्रह गरिएको छ।

यसैबीच, लगातारको वर्षापछि आएको बाढी र पहिरोले देशका विभिन्न राजमार्गहरूमा यातायात प्रभावित भएको छ। नेपाल प्रहरीका अनुसार कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका धेरै सडक खण्ड पूर्ण रूपमा अवरुद्ध भएका छन् भने केही सडक एकतर्फी मात्र सञ्चालनमा रहेका छन्।

कोशी प्रदेशमा इलामको राजदुवाली र ताप्लेजुङको खोक्से खोलामा पहिरोका कारण मेची राजमार्ग अवरुद्ध भएको छ। भोजपुरस्थित मध्यपहाडी लोकमार्गमा भने बाढीका कारण एकतर्फी सवारी सञ्चालन भइरहेको छ।

बागमती प्रदेशमा काभ्रेको विपी राजमार्ग र मकवानपुरको कान्ति लोकपथमा सम्भावित जोखिमका कारण सवारी सञ्चालन रोकिएको छ। साथै, सिन्धुपाल्चोकको जिरोकिलो र कोदारी क्षेत्रमा पर्ने अरनिको राजमार्ग तथा नुवाकोटको ककनी क्षेत्रमा पनि पहिरोका कारण यातायात ठप्प भएको छ।

गण्डकी प्रदेशको बागलुङस्थित कालीगण्डकी करिडोर र गोरखाको आरुघाट–माछीखोला सडक खण्ड पनि पहिरोले अवरुद्ध बनाएको छ। लुम्बिनी प्रदेशमा अर्घाखाँचीको सालझण्डी–ढोरपाटन सडक तथा रोल्पाको घोराही–थवाङ सहिद राजमार्गमा समेत यातायात सञ्चालन प्रभावित भएको प्रहरीले जनाएको छ।

सम्बन्धित निकायहरूले यात्रा गर्नुअघि सडकको अवस्था बुझ्न, मौसमको जानकारी लिन तथा आवश्यक परे नजिकको प्रहरी कार्यालय वा सडक विभागसँग सम्पर्क गरी मात्र यात्रा गर्न सर्वसाधारणलाई अनुरोध गरेका छन्।

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय