काठमाडौं —नेपालको निजी हवाई सेवा प्रदायक बुद्ध एयरले आफ्नो विमान बेडालाई थप आधुनिक बनाउने तयारीअन्तर्गत यसै साता नयाँ पुस्ताको एटीआर ७२–६०० विमान नेपाल भित्र्याउने भएको छ। कम्पनीले यसलाई आन्तरिक उड्डयन सेवाको गुणस्तर, सुरक्षा र वातावरणीय दायित्वलाई अझ सुदृढ बनाउने कदमका रूपमा लिएको जनाएको छ।

नेपाल नागरिक उड्डयन प्राधिकरणबाट आवश्यक अनुमति प्राप्त गरेपछि फ्रान्सको टुलुजबाट पहिलो एटीआर ७२–६०० विमान शुक्रबार काठमाडौं आइपुग्ने तालिका तय भएको बुद्ध एयरले जनाएको छ। ७० सिट क्षमता भएको यो विमान नेपाली आकाशमा सञ्चालन हुने सबैभन्दा आधुनिक टर्बोप्रोप विमानमध्ये एक मानिएको छ।

बुद्ध एयरका अनुसार करिब एक महिनाभित्र यही सिरिजको अर्को विमान पनि नेपाल ल्याइनेछ। दोस्रो विमानका लागि नेपाली दर्ता नम्बर समेत प्राप्त भइसकेको छ। पहिलो विमान विदेशी पाइलटले नेपाल ल्याउनेछन् भने दोस्रो विमान कम्पनीका नेपाली पाइलटले नै उडाएर ल्याउने योजना छ। त्यसका लागि बुद्ध एयरले आफ्ना पाइलटलाई फ्रान्समा विशेष तालिमका लागि पठाउने तयारी गरेको छ।

उड्डयन विज्ञहरूका अनुसार एटीआर ७२–६०० नेपालजस्तो पहाडी भूगोल, छोटो धावनमार्ग र उच्च तापक्रम भएका विमानस्थलका लागि उपयुक्त विमान हो। यसले अन्य समान क्षमताका विमानको तुलनामा करिब ४५ प्रतिशतसम्म कम इन्धन प्रयोग गर्ने भएकाले सञ्चालन खर्च उल्लेख्य रूपमा घट्ने विश्वास गरिएको छ। साथै, कम कार्बन उत्सर्जन गर्ने भएकाले वातावरण संरक्षणमा पनि सकारात्मक योगदान पुग्ने बताइएको छ।

बुद्ध एयरले हाल सञ्चालनमा रहेका पुराना एटीआर ७२–५०० विमानलाई चरणबद्ध रूपमा विस्थापित गर्दै नयाँ ६०० सिरिजका विमान ल्याउने रणनीति अघि बढाएको छ। अन्तर्राष्ट्रिय बजारमा पुराना मोडल उपलब्ध हुन कठिन बन्दै गएपछि कम्पनीले करिब १२ वर्ष पुरानो तर अत्याधुनिक प्रविधियुक्त ६०० सिरिज रोजेको जनाएको छ।

कम्पनीका अनुसार पहिलो विमान ब्राजिल र दोस्रो विमान स्पेनमा सञ्चालनमा रहेको थियो। एउटा विमानको मूल्य करिब १२–१३ मिलियन अमेरिकी डलर (एक अर्ब रुपैयाँभन्दा बढी) रहेको बताइएको छ। नयाँ विमान सिधै उत्पादक कम्पनीबाट खरिद गर्दा लागत ३ अर्ब ५० करोड रुपैयाँभन्दा माथि पुग्ने जनाइएको छ।

एटीआर ७२–६०० मा डिजिटल ग्लास ककपिट, आधुनिक एभियोनिक्स प्रणाली र उन्नत फ्लाइट म्यानेजमेन्ट सिस्टम जडान गरिएको छ। यी प्रविधिले पाइलटको कार्य सहज बनाउनुका साथै उडान सुरक्षालाई थप मजबुत बनाउने अपेक्षा गरिएको छ।

यात्रु सुविधामा पनि यो विमान अघिल्लो मोडलभन्दा उन्नत रहेको कम्पनीको दाबी छ। नयाँ क्याबिन डिजाइन, एलईडी प्रकाश व्यवस्था, कम इन्जिन आवाज तथा थप आरामदायी सिट व्यवस्थाले यात्रुलाई अझ सहज र आरामदायी उडान अनुभव प्रदान गर्ने विश्वास गरिएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय