काठमाडौं — नेपाल–भारत पारवहन सहकार्यअन्तर्गत कोलकाता बन्दरगाहदेखि विराटनगर भन्सारसम्म मालसामान ढुवानी गर्ने रेल सेवा पहिलो पटक औपचारिक रूपमा सञ्चालनमा आएको छ।
नेपाली महावाणिज्यदूतावास, कोलकाताका अनुसार नयाँ व्यवस्थाअनुसार उद्योगका लागि आवश्यक कच्चा पदार्थ बोकेको पहिलो कार्गो रेल शुक्रबार कोलकाताबाट प्रस्थान गरी सोमबार विराटनगर पुगेको हो। उक्त रेलमा ४० वटा ४० फिटका कन्टेनर समावेश थिए।
यो सेवाको सुरुवातसँगै आयातित सामानको ढुवानी प्रक्रिया थप छिटो, व्यवस्थित र कम खर्चिलो हुने अपेक्षा गरिएको छ। उद्योगी तथा व्यवसायीहरूले यसले व्यापार सहजीकरणमा टेवा पुर्याउनुका साथै नेपाली उद्योगहरूको प्रतिस्पर्धात्मक क्षमता पनि मजबुत बनाउने विश्वास व्यक्त गरेका छन्।












