धनकुटा ।धनकुटा जिल्लाको छथर जोरपाटी गाउँपालिका र महालक्ष्मी नगरपालिकाको माथिल्लो क्षेत्रमा यतिबेला बन्दाकोपी खेती गर्ने किसानहरू उचित मूल्य नपाउँदा चिन्तित बनेका छन्। यस क्षेत्रलाई कोशी प्रदेशकै प्रमुख तरकारी उत्पादन क्षेत्रमध्ये एक मानिन्छ, जहाँ वर्षेनी बन्दाकोपी, काउली, साग, मुला, आलुलगायतका मौसमी तरकारी व्यावसायिक रूपमा उत्पादन हुँदै आएको छ।

यस वर्ष पनि सयौं हेक्टर क्षेत्रफलमा बन्दाकोपी खेती गरिएको छ। स्थानीय किसानका अनुसार मौसम अनुकूल रहेकाले उत्पादन राम्रो भएको छ। तर, उत्पादन बढे पनि बजारमा मूल्य घट्दा किसानले लागतसमेत उठाउन कठिन भएको बताएका छन्।

किसानहरूले एक रोपनी बन्दाकोपी खेती गर्न औसत २५ हजारदेखि ४० हजार रुपैयाँसम्म खर्च हुने बताएका छन्। मल, उन्नत बीउ, विषादी, सिँचाइ, खेतालाको ज्याला तथा ढुवानी खर्च लगातार बढिरहेको छ। अहिले खेतबाट बन्दाकोपी प्रति केजी ८ देखि १५ रुपैयाँ मा बिक्री गर्नुपरेको किसानहरूको भनाइ छ। उनीहरूका अनुसार यही बन्दाकोपी उपभोक्तासम्म पुग्दा २५ देखि ४० रुपैयाँ प्रतिकेजी मा बिक्री हुने गरेको छ। यसबाट किसानले न्यून मूल्य पाउने तर बिचौलियाले बढी लाभ लिने अवस्था रहेको उनीहरूको गुनासो छ।

कृषि तथा पशुपन्छी विकास मन्त्रालयका तथ्यांकअनुसार नेपालमा वार्षिक करिब २ लाख ८० हजार मेट्रिक टनभन्दा बढी बन्दाकोपी उत्पादन हुने गरेको छ। तर उत्पादन बढ्दै जाँदा बजार व्यवस्थापन, भण्डारण र प्रशोधनको अभावका कारण किसानले वर्षेनी उचित मूल्य नपाउने समस्या दोहोरिँदै आएको छ।

स्थानीय किसानहरूका अनुसार हरेक निर्वाचनको समयमा कृषि उपजको बजार व्यवस्थापन, बिचौलियाको नियन्त्रण, न्यूनतम समर्थन मूल्य निर्धारण तथा किसानलाई सहज बजार पहुँच उपलब्ध गराउने प्रतिबद्धता नेताहरूले गर्ने गरेका छन्। तर ती प्रतिबद्धता व्यवहारमा कार्यान्वयन नहुँदा किसान निराश बनेका छन्।

उनीहरूका अनुसार उत्पादनको उचित मूल्य सुनिश्चित नभएसम्म किसान कृषि पेशाबाट विस्थापित हुदै जानेछ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय