ललितपुर/ ९ साउन, पाटन संयुक्त क्याम्पसको मानवशास्त्र विभागका पूर्वविद्यार्थी एवम् अध्ययनरत विद्यार्थीहरूको संग्लग्नतामा विद्यार्थी सञ्जाल गठन गरिएको छ।
साउन ८ गते शुक्रबार क्याम्पसमा आयोजित भेलाले बिश्वकिर्तिमनी सगरमाथा आरोही कल्पना महर्जनको नेतृत्वमा ९ सदस्यीय सञ्जालको गठन गरेको हो।
सञ्जालको सह-संयोजकमा जीतमान राई, सचिवमा दिनेश सुनार र सहसचिवमा अमृता गौतम चयन हुनुभएको छ भने दिनेश पुजारी कोषाध्यक्षको जिम्मेवारीमा हुनुहुन्छ।
सञ्जालको सदस्यहरूमा शारदा अधिकारी, आश्वाश पराजुली, रिचेन तामाङ र सन्देश मालाकार चयन भएका छन्। महर्जन नेपाल र चीन दुवैतर्फबाट सगरमाथा आरोहण गर्ने पहिलो महिला पत्रकार हुन्।
सञ्जालले विद्यार्थी कल्याणका लागि काम गर्ने, मानवशास्त्रलाई एउटा विषयका रूपमा प्रवर्द्धन गर्ने र क्याम्पस/विश्वविद्यालय प्रशासन तथा विद्यार्थीहरूबीच सम्पर्क सेतुको काम गर्ने योजना बनाएको संयोजक महर्जनले जानकारी दिनुभयो।
उक्त कार्यक्रममा मन्तव्य राख्नुहुँदै मानवशास्त्रका प्राध्यापकहरूले मानवशास्त्र विषयबारे धेरैभन्दा धेरै विद्यार्थीलाई जानकारी पुर्‍याउनु आवश्यक रहेको औंल्याउँदै विद्यार्थी सञ्जालले सो प्रक्रियामा सघाउ पुर्‍याउने अपेक्षा राखेको बताउनुभयो।
भेलामा मानवशास्त्र विभागका प्रमुख डा. गोकर्ण ज्ञवाली, होम याम्फु राई, डा. हरि प्रसाद भट्टराई, विष्णु दाहाल र नवराज बस्नेतलगायत क्याम्पसका प्राध्यापकहरू उपस्थित हुनुहुन्थ्यो। पाटनमा विद्यार्थीहरूको यस्तो पहिलो सञ्जाल हो।
पाटन संयुक्त क्याम्पसमा मानवशास्त्र विषय स्नातक र स्नातकोत्तर तह दुवैमा अध्यापनको व्यवस्था हुँदै आएको छ। सञ्जालले यसलाई भावी विद्यार्थीहरूसम्म विषयबारे थप जानकारी पुर्‍याउने अवसरका रूपमा हेरेको छ। सञ्जालका उद्देश्यहरूमा मानवशास्त्रलाई एउटा विषयका रूपमा प्रवर्द्धन गर्ने, अनुसन्धानमूलक कार्यहरू सञ्चालन गर्ने र विद्यार्थीहरूलाई रोजगारीका अवसर पहिचान गर्न तथा एकआपसमा जोडिन सहयोग गर्ने प्लेटफर्म निर्माण गर्ने रहेका छन्।—

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय