काठमाडौं, २० साउन, टोखा नगरपालिका–११ मा खोलाको मापदण्ड पालना नगरी निजी जग्गामाथि सडक निर्माण गरिएको आरोप लगाउँदै प्रभावित जग्गाधनीहरुले अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी दिएका छन्।
पीडित जग्गाधनीहरुले टोखा नगरपालिका–११ का वडा अध्यक्ष घनश्याम खड्काले नेपाल सरकारले निर्धारण गरेको खोला किनारको मापदण्ड २०६५ अनुसार नापजाँच, जग्गाधनीको सहमति तथा सर्जमिन मुचुल्का नगरी निजी जग्गामा सडक निर्माणको काम अघि बढाएको आरोप लगाएका छन्। उनीहरूले नगरपालिका र वडा कार्यालयले पटकपटक ध्यानाकर्षण गराउँदा पनि सुनुवाइ नगरेको दाबी गरेका छन्।
उजुरीअनुसार साविक गोगबु गाविस–८ अन्तर्ग रहेका विभिन्न कित्ताका जग्गा २०२१ सालको नापीअनुसार कायम रहेको, नक्सापास भई नियमित रूपमा राजस्वसमेत तिर्दै आएको अवस्थामा खोलाको मापदण्ड देखाएर जग्गा अतिक्रमण गरिएको आरोप लगाइएको छ।
जग्गाधनीले नेपाल सरकारको २०६५ मङ्सिर १ गतेको निर्णयअनुसार बागमती, विष्णुमती र मनोहरा नदीको नापी नक्साको किनारबाट २० मिटर दूरी कायम गरेपछि मात्रै करिडोर सडक निर्माण गर्नुपर्ने व्यवस्था रहेको उल्लेख गर्दै उक्त मापदण्ड पालना नगरी सडक निर्माण सुरु गरिएको दाबी गरेका छन्।
उनीहरूले सडक निर्माणका लागि आवश्यक बजेट स्वीकृत, ठेक्का प्रक्रिया तथा कानुनी प्रक्रिया पूरा नगरी काम अघि बढाइएको आरोपसमेत लगाएका छन्। वडा तहदेखि नगरपालिकासम्म आफ्ना गुनासोको सुनुवाइ नभएको उनीहरूको भनाइ छ।
अख्तियारमा दर्ता गरिएको निवेदनमा टोखा नगरपालिकाका प्रमुख, वडा नं. ११ का वडा अध्यक्ष घनश्याम खड्का तथा सम्बन्धित प्राविधिक कर्मचारीले आपसी मिलेमतोमा कानुनविपरीत सडक निर्माण गरी आर्थिक अनियमितता गरेको आशङ्का व्यक्त गरिएको छ। साथै, विवादित निर्माण कार्य तत्काल रोक्न, घटनाको प्राविधिक छानबिन गर्न तथा संलग्न जनप्रतिनिधि र कर्मचारीमाथि प्रचलित कानुनबमोजिम अनुसन्धान र कारबाही गर्न माग गरिएको छ।
उजुरीसँगै विवादित जग्गाको तस्बिर, नापी नक्सा तथा काठमाडौं उपत्यका नगर विकास समितिले जारी गरेको पत्रको प्रतिलिपिसमेत आयोगमा पेस गरिएको पीडित पक्षले जनाएको छ। नेपाल सरकारले निर्धारण गरेको मापदण्डअनुसारको जग्गा छोड्न सम्पूर्ण जग्गा धनीहरु मञ्जुर रहेको उनीहरूले बताएका छन् ।
——–












