काठमाडौं, भदौ ९ — प्रतिनिधिसभाको बुधबार बस्ने बैठकमा प्रधानमन्त्री बालेन शाहसँग सांसदहरूको प्रत्यक्ष प्रश्नोत्तर कार्यक्रम हुँदैछ। संसद् सचिवालयका अनुसार विभिन्न राजनीतिक दलका ११ सांसदले प्रधानमन्त्रीलाई प्रश्न सोध्न आफ्नो नाम दर्ता गराएका छन्।

सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बाट समीक्षा बास्कोटा, कृष्णहरि बुढाथोकी र अमरेशकुमार सिंह प्रश्न सोध्ने सूचीमा छन्। प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसबाट प्रमुख सचेतक बासना थापा र सांसद गीता गुरुङ सहभागी हुनेछन्।

त्यस्तै, नेकपा एमालेबाट प्रमुख सचेतक ऐनबहादुर महर र सांसद गणेश सिंह ठगुन्नाले प्रश्न राख्नेछन्। नेपाली कम्युनिस्ट पार्टी (नेकपा) बाट वर्षमान पुन र प्रमेशकुमार हमालले प्रधानमन्त्रीसँग प्रश्न गर्नेछन्।

श्रम संस्कृति पार्टीका संसदीय दलका नेता हर्कराज राई तथा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) की प्रमुख सचेतक खुश्बु ओली पनि प्रश्नकर्ता रहनेछन्।

सांसदहरूले प्रधानमन्त्रीको कार्यक्षेत्रसँग सम्बन्धित विषय र आफूले उठाउन चाहेको प्रश्नको लिखित विवरण संसद् सचिवालयमा निर्धारित समयभित्र बुझाइसकेका छन्।

प्रतिनिधिसभा नियमावलीअनुसार प्रधानमन्त्रीसँग प्रत्यक्ष प्रश्नोत्तरका लागि प्रत्येक महिनाको पहिलो हप्ताको कुनै एक बैठकको पहिलो एक घण्टा छुट्याउन सकिने व्यवस्था छ। सोही व्यवस्थाअनुसार सभामुख डोलप्रसाद अर्यालले बुधबारको बैठकका लागि प्रश्नोत्तर कार्यक्रम तय गरेका हुन्।

नियमावलीअनुसार प्रधानमन्त्रीसँग प्रश्न गर्न इच्छुक सांसदले बैठक सुरु हुनुभन्दा कम्तीमा तीन दिनअघि प्रश्नको विषय सभामुखलाई लिखित रूपमा जानकारी गराउनुपर्छ। यसपटक भदौ ५ गतेसम्म प्रश्न दर्ता गर्न समय दिइएको थियो।

प्रतिनिधिसभामा बढीमा १५ सांसदले प्रधानमन्त्रीसँग प्रश्न गर्न पाउने व्यवस्था भए पनि यसपटक ११ जनाले मात्र प्रश्न दर्ता गरेका छन्। दलहरूको संसदीय उपस्थितिका आधारमा प्रश्न सोध्ने सांसदको संख्या निर्धारण गरिएको थियो।

प्रत्यक्ष प्रश्नोत्तर कार्यक्रम सरकारी तथा अन्य सञ्चारमाध्यमबाट प्रत्यक्ष प्रसारण गर्न सकिने व्यवस्था पनि नियमावलीमा छ। तर, प्रश्न स्वीकार्य छ कि छैन भन्ने अन्तिम निर्णय गर्ने अधिकार सभामुखसँग रहनेछ।

यस कार्यक्रमअन्तर्गत प्रधानमन्त्रीले दिएको जवाफमाथि प्रतिनिधिसभामा छुट्टै छलफल भने नहुने व्यवस्था नियमावलीमा उल्लेख छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय