काठमाडौं । प्रधानमन्त्री शाह बुधबार प्रतिनिधिसभामा सांसदहरूसँग प्रत्यक्ष प्रश्नोत्तर कार्यक्रममा सहभागी हुँदैछन् । त्यसअघि उनको आँखाको स्वास्थ्यसम्बन्धी चिकित्सकीय रिपोर्ट संसद् सचिवालयमा पुगेको छ ।

शाहले २२ साउनमा छाउनीस्थित अस्पतालमा आँखाको परीक्षण गराएका थिए । परीक्षणपछि तीव्र उज्यालोमा खाली आँखाले हेर्दा समस्या देखिन सक्ने भएकाले कालो चस्मा प्रयोग गर्न चिकित्सकले सुझाव दिएका थिए । अस्पतालले सोसम्बन्धी विवरणसहितको पत्र २६ साउनमा संसद् सचिवालय पठाएको हो ।

प्रतिनिधिसभाको बुधबारको बैठकमा प्रधानमन्त्रीसँग प्रत्यक्ष प्रश्नोत्तर कार्यक्रम सञ्चालन हुँदैछ । कार्यक्रममा ११ जना सांसदले प्रधानमन्त्री शाहलाई विभिन्न विषयमा प्रश्न गर्नेछन् ।

प्रतिनिधिसभा नियमावलीको नियम ५६ ले प्रधानमन्त्रीसँग प्रत्यक्ष प्रश्नोत्तरका लागि प्रत्येक महिनाको पहिलो साता बैठकको पहिलो एक घण्टा छुट्याउने व्यवस्था गरेको छ । प्रधानमन्त्री वा उनको कार्यक्षेत्रसँग प्रत्यक्ष सम्बन्धित महत्वपूर्ण विषयमा सांसदहरूले प्रश्न गर्न पाउने व्यवस्था नियमावलीमा छ ।

त्यस्तै, नियम ५७ ले यस्तो कार्यक्रम सरकारी तथा अन्य सञ्चारमाध्यमबाट प्रत्यक्ष प्रसारण गर्न सकिने व्यवस्था गरेको छ । नियम ५८ अनुसार प्रधानमन्त्रीलाई प्रश्न गर्न इच्छुक सांसदले बैठक सुरु हुनुभन्दा तीन दिनअघि प्रश्नको विषय सभामुखलाई लिखित रूपमा उपलब्ध गराउनुपर्ने हुन्छ ।

सोही व्यवस्थाअनुसार सभामुख अर्यालले प्रश्न दर्ताका लागि समय तोकेका थिए । निर्धारित समयभित्र ११ जना सांसदले प्रधानमन्त्रीलाई सोध्ने प्रश्न दर्ता गराएका छन् ।

यसैबीच, प्रश्नोत्तर कार्यक्रममा सहभागी हुन प्रधानमन्त्री संसद् भवन आउँदा आँखामा कालो चस्मा लगाउनुपर्ने अवस्थाबारे अस्पतालको पत्र संसद् सचिवालयमा पुगेको हो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय