रसुवा । चीनको तिब्बततर्फबाट भोटेकोशी नदीमा अचानक ठूलो बाढी आएपछि रसुवाको टिमुरे र स्याफ्रुबेसी क्षेत्रमा ठूलो क्षति भएको छ। बाढीका कारण टिमुरेस्थित भन्सार कार्यालय क्षेत्र प्रभावित भएको स्थानीय प्रशासनले जनाएको छ।

रसुवाका सहायक प्रमुख जिल्ला अधिकारी ध्रुवप्रसाद अधिकारीका अनुसार गोसाइँकुण्ड गाउँपालिका–२ टिमुरे र वडा नम्बर ५ स्याफ्रुबेसीमा बाढीले ठूलो क्षति पुर्‍याएको प्रारम्भिक जानकारी आएको छ। उनका अनुसार चीनतर्फबाट आएको बाढीको मात्रा अत्यन्त ठूलो रहेको छ।

भन्सार विभागका महानिर्देशक खेमलाल भुसालले टिमुरे क्षेत्रमा बाढी आएको जानकारी त्यहाँ कार्यरत कर्मचारीले बिहान करिब ८ बजे गराएको बताए। घटनास्थलमा रहेका केही कर्मचारी सम्पर्कमा आए पनि अन्यको अवस्थाबारे अझै पूर्ण जानकारी प्राप्त हुन नसकेको उनले बताए।

अचानक आएको बाढीका कारण नदीको तल्लो तटीय क्षेत्रमा समेत जोखिम बढेपछि जिल्ला प्रशासनले नुवाकोट र धादिङ प्रशासनलाई समेत सतर्क गराएको छ। सहायक प्रमुख जिल्ला अधिकारी अधिकारीले बाढीको अवस्था ‘अकल्पनीय रूपमा ठूलो’ रहेको भन्दै तल्लो तटीय क्षेत्रका बासिन्दालाई सावधानी अपनाउन आग्रह गरेका छन्।

भोटेकोशी तथा त्यससँग जोडिएका नदी किनार हुँदै नुवाकोट, धादिङ, गोरखा र चितवनतर्फका बस्तीमा समेत जोखिम हुन सक्ने भएकाले नदी आसपासका नागरिकलाई तत्काल सुरक्षित स्थानमा जान र नदीबाट पर्याप्त दूरी कायम गर्न आग्रह गरिएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय