काठमाडौँ — भोटेकोशी क्षेत्रमा आएको विनाशकारी बाढीपछि उद्धार, राहत र पुनःस्थापनाका लागि सरकारी तथा गैरसरकारी क्षेत्रबाट सहयोग जुट्न थालेको छ। प्रभावित नागरिकको तत्काल उद्धारदेखि स्वास्थ्य सेवा र राहत सामग्री व्यवस्थापनसम्म विभिन्न संस्था तथा राजनीतिक दलले सहयोगको घोषणा गरेका छन्।

विश्व बैंकले नेपाललाई आपत्कालीन अवस्थाको सामना गर्न २५ अर्ब रुपैयाँसम्मको सहयोग उपलब्ध गराउन सकिने जानकारी दिएको छ। नेपालका लागि विश्व बैंकका नेपाल निर्देशक डेभिड सिस्लेनले अर्थमन्त्री स्वर्णिम वाग्लेसँगको छलफलमा यस्तो सहयोगबारे जानकारी गराएका हुन्।

गैरआवासीय नेपाली संघ (एनआरएनए) ले बाढी प्रभावितका लागि ५ करोड रुपैयाँ सहयोग गर्ने निर्णय गरेको छ। साथै प्रभावित क्षेत्रमा स्वास्थ्य परीक्षण, प्राथमिक उपचार र औषधि वितरणका लागि चिकित्सकसहितको टोली परिचालन गर्ने तयारी पनि गरिएको छ।

त्यसैगरी एक्स्ट्रिम इनर्जी ड्रिंक्सले सरकारी राहत कोषमा १ करोड रुपैयाँ उपलब्ध गराउने घोषणा गरेको छ। कम्पनीले विपद्मा परेका नागरिकको उद्धार, राहत तथा पुनःस्थापनामा सरकारसँग सहकार्य गर्ने जनाएको छ।

बाढीपछि नेपाललाई सहयोग गर्ने प्रतिबद्धता अन्तर्राष्ट्रिय स्तरबाट पनि आएको छ। भारत र चीनसँगै अमेरिका तथा विश्व बैंकले नेपाललाई आवश्यक मानवीय सहयोग उपलब्ध गराउने तत्परता देखाएका छन्।

भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले प्रधानमन्त्री वालेन्द्र शाहसँग फोन संवाद गर्दै आवश्यक मानवीय सहायता उपलब्ध गराउने प्रतिबद्धता जनाएका छन्। भारतीय विदेशमन्त्री एस जयशंकरका अनुसार भारतले नेपालका लागि १० टन राहत सामग्री र अत्यावश्यक औषधि पठाएको छ। केही सामग्री बुधबार साँझ नेपाल आइपुगेका छन्।

चीनले पनि बाढीबाट प्रभावित नेपाललाई तत्काल आर्थिक सहयोग उपलब्ध गराउने जनाएको छ। नेपालका लागि चिनियाँ राजदूत चाङ माओमिङले सहयोग प्राप्त गर्ने प्रक्रियालाई अघि बढाउन आग्रह गरेका छन्। अमेरिकाले समेत नेपाललाई आवश्यक सहयोग गर्न आफू तयार रहेको जनाएको छ।

राजनीतिक दलहरू पनि राहत तथा उद्धारमा सक्रिय हुन थालेका छन्। राष्ट्रिय स्वतन्त्र पार्टीले ५० लाख रुपैयाँ सहयोग गर्ने निर्णय गर्नुका साथै अर्को सूचना जारी नभएसम्म आफ्ना सबै सांगठनिक गतिविधि स्थगित गरेको जनाएको छ। पार्टीका नेता–कार्यकर्तालाई प्रभावित क्षेत्रमा उद्धार, राहत तथा व्यवस्थापनमा परिचालन गरिने बताइएको छ।

नेपाली कांग्रेसले पनि बाढी तथा पहिरो प्रभावित क्षेत्रमा नेता–कार्यकर्ता परिचालन गर्ने निर्णय गरेको छ। सभापति गगन थापाले विपद्को समयमा सरकारले अघि बढाउने उद्धार तथा राहतका सबै प्रयासमा पार्टीको सहयोग रहने बताएका छन्।

नेकपा एमालेले आफ्ना नेता, कार्यकर्ता, जनसंगठन तथा जनप्रतिनिधिलाई प्रभावित क्षेत्रमा तत्काल खटिन निर्देशन दिएको छ। अध्यक्ष केपी शर्मा ओलीले स्थानीय प्रशासन र सुरक्षा निकायसँग समन्वय गरी बेपत्ताको खोजी, जोखिममा रहेका नागरिकको उद्धार तथा स्थानान्तरण र घाइतेको उपचारमा सक्रिय हुन आग्रह गरेका छन्।

पुष्पकमल दाहाल नेतृत्वको नेकपाले पनि राहत तथा पुनःस्थापनाको कामलाई व्यवस्थित बनाउन गंगालाल तुलाधरको नेतृत्वमा समन्वय समिति गठन गरेको छ। श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले राजनीतिक विभाजनभन्दा माथि उठेर ‘एक टिम, एक राष्ट्र’ का रूपमा उद्धार र राहतमा जुट्न आह्वान गरेका छन्।

राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले पनि पार्टीका नेता तथा कार्यकर्तालाई बाढी प्रभावित क्षेत्रमा पुगेर उद्धार र राहत कार्यमा सहभागी हुन निर्देशन दिएका छन्।

बाढीबाट ठूलो क्षति भएको अवस्थामा विभिन्न क्षेत्रबाट सहयोगको प्रतिबद्धता आउन थालेसँगै अब प्रभावित नागरिकको तत्काल उद्धार, सुरक्षित स्थानमा स्थानान्तरण, स्वास्थ्य उपचार, राहत वितरण र दीर्घकालीन पुनःस्थापनालाई प्रभावकारी रूपमा अघि बढाउनुपर्ने आवश्यकता देखिएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय