नुवाकोट — बुधबार आएको भीषण बाढीले नुवाकोटको त्रिशूली नदी आसपासको पुरानो बजार क्षेत्रलाई तहसनहस बनाएको छ। वर्षौंदेखि मानिसहरूको बसोबास, व्यापार, शिक्षा र धार्मिक गतिविधिको केन्द्रका रूपमा रहेको त्रिशूली बजारको ढुङ्गे क्षेत्र अहिले बाढी र बालुवाले पुरिएको छ।
पुरानो ढुङ्गे क्षेत्रमा रहेको पुल, बस्ती, विद्यालय, मस्जिद, पेट्रोल पम्पलगायतका संरचनामा बाढीले ठूलो क्षति पुर्याएको छ। कुनै समय नेवार समुदायको बाक्लो बस्ती र बजारले भरिएको उक्त क्षेत्र अहिले पहिचान गर्नै कठिन हुने अवस्थामा पुगेको स्थानीयहरूले बताएका छन्।
बाढीका कारण विदुरदेखि माथिल्लो कोलानीतर्फ जाने सडक तथा यातायात सम्पर्कसमेत प्रभावित भएको छ। कतिपय स्थानमा पुल तथा सडक बगाएपछि आवतजावतमा समस्या भएको छ। बाढीपछि धेरै मानिस सम्पर्कविहीन रहेको बताइएको छ भने उनीहरूको खोजी तथा उद्धारका लागि सुरक्षाकर्मी र स्थानीय तहका टोली परिचालन भएका छन्।
बाढीको वास्तविक कारणबारे अध्ययन भइरहेको छ। प्रारम्भिक रूपमा हिमताल फुट्ने वा हिमपहिरोका कारण ठूलो पानीको बहाव आएको हुनसक्ने आशंका गरिए पनि यसको यकिन कारण सम्बन्धित निकायको अध्ययनपछि मात्र स्पष्ट हुने बताइएको छ।
बाढीले रसुवा हुँदै त्रिशूली नदी तटीय क्षेत्रमा ठूलो क्षति पुर्याएको छ। विपद्को अवस्थाबारे जानकारी लिन प्रधानमन्त्री बालेन्द्र शाह समेत विदुर पुगेका छन्। उनले प्रभावित क्षेत्रको अवस्था, उद्धार तथा राहत व्यवस्थापनबारे जानकारी लिएका छन्।
स्थानीयका लागि त्रिशूलीको पुरानो बजार केवल बजार मात्र नभई पुस्तौँदेखिको इतिहास, संस्कृति र सम्झनासँग जोडिएको ठाउँ थियो। तर एकैपटक आएको भीषण बाढीले ‘पुरानो त्रिशूली बजार’ भनेर चिनिने ढुङ्गेको स्वरूप नै बदलिदिएको छ। अहिले त्यहाँ पुरानो बजारको ठाउँमा बाढीले थुपारेको बालुवा, ढुंगा र भग्नावशेष मात्र देखिन्छ।















