ललितपुर । रसुवाको भोटेकोशी बाढीपीडितका लागि ललितपुरको थसिखेल स्थित प्रतिभा बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडले आफ्ना विभिन्न आन्तरिक स्रोतबाट रकम जुटाएर तीन लाख रुपैयाँ सहयोग गरेको छ।
बाढीबाट प्रभावित परिवारको राहत तथा पुनःस्थापनामा सहयोग पुर्याउने उद्देश्यले सहकारीले सञ्चालक समिति बैठकको भत्ता, सदस्य सुरक्षा योजनाको रकम, कर्मचारी परिवारको सहयोग तथा अध्यक्षको व्यक्तिगत योगदानबाट रकम संकलन गरेको हो।
सहकारीका अनुसार सञ्चालक समिति बैठक भत्ताबाट २८ हजार रुपैयाँ, सदस्य सुरक्षा योजनाबाट एक लाख ५० हजार एक सय रुपैयाँ र कर्मचारी परिवारको तर्फबाट एक लाख रुपैयाँ जुटाइएको छ। त्यसमा संस्थाका अध्यक्ष कृष्णप्रसाद शर्माले व्यक्तिगत रूपमा थप २५ हजार रुपैयाँ योगदान गरेका छन्।
यसरी संकलित तीन लाख रुपैयाँ प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गरिएको संस्थाले जनाएको छ।
भदौ १० गते रसुवाको भोटेकोशी नदीमा आएको आकस्मिक भीषण बाढीले ठूलो मानवीय तथा भौतिक क्षति पुर्याएपछि राहत र पुनःस्थापनाका लागि विभिन्न क्षेत्रबाट सहयोग जुटिरहेको छ। यही क्रममा सहकारीले पनि संस्थागत स्रोत परिचालन गरी पीडितलाई सहयोग गरेको हो।
सहकारीका अध्यक्ष शर्माले विपद्को समयमा संस्थाले सदस्यको आर्थिक कारोबारमा मात्र सीमित नभई समाज र राष्ट्रको सुख–दुःखमा समेत साथ दिनुपर्ने बताए।
उनका अनुसार बाढीबाट घरपरिवार गुमाएका, घाइते भएका तथा जीविकोपार्जनको आधार गुमाएका नागरिकलाई तत्काल राहतको आवश्यकता रहेकाले संस्थाले आफ्नो क्षमताअनुसार सहयोग गरेको हो।
सहकारीले बाढीमा परी ज्यान गुमाउनेप्रति श्रद्धाञ्जली तथा शोकसन्तप्त परिवारप्रति समवेदना व्यक्त गरेको छ। साथै, घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना गर्दै विपद्को समयमा पीडितको सहयोगका लागि सबै क्षेत्रबाट सहकार्य आवश्यक रहेको जनाएको छ।
सहकारीले आफ्नो सहयोगले बाढीपीडितको राहत र पुनःस्थापनामा केही भए पनि योगदान पुग्ने विश्वास व्यक्त गरेको छ।
यस अघि ललितपुरका ललितपुर महानगर पालिकाले १ करोड, गोदावरी नगरपालिकाले ५० लाख र महालक्ष्मी नगरपालिाकाले ३० लाख आर्थिक सहायता गरेका थिए भने गोदावरी नगरपालिका वडा नं. ३ का वडा अध्यक्ष राज घिमिरेले व्यक्तिगत ५२ हजार रुपैयाँ आर्थिक सहायता प्रदान गरेका थिए ।












