ललितपुर, ३१ भदौ: नदिजन्य तथा खनिजजन्य पदार्थ जिल्ला अनुगमन समितिले ललितपुरको टिकाभैरवका दुईवटा खानीको अनुगमन गरेको छ।
जिल्ला समन्वय समिति ललितपुरका प्रमुख ऋषिदेव फूँयालको संयोजकत्वमा रहेको समितिले मंगलबार विहान गोदावरी नगरपालिका वडा नं. ६ टिकाभैरवमा रहेका महर्जन ढुंगा रोडा उद्योग र निराकार ढुंगा रोडा उद्योगको स्थलगत अनुगमन गरेको हो।
अनुगमनका क्रममा ललितपुर क्षेत्र नं. १ बाट निर्वाचित प्रतिनिधिसभा सदस्य बुद्धरत्न महर्जन, प्रमुख जिल्ला अधिकारी नरहरि घिमिरे, गोदावरी नगरपालिकाका प्रमुख गजेन्द्र महर्जन, जिल्ला प्रहरी प्रमुख तुल बहादुर कार्की, जिल्ला वन कार्यालय ललितपुरका प्रमुख संयोग बस्नेत सहित सम्बन्धित सरकारी कार्यालयका पदाधिकारीहरु सहभागी हुनुहुन्थ्यो।
ललितपुर क्षेत्र नं. १ बाट निर्वाचित प्रतिनिधिसभा सदस्य बुद्धरत्न महर्जनले यहाँ सञ्चालित खानीहरुले न्युनतम मापदण्ड पनि पूरा नगरेको भन्दै यसका लागि बन कार्यालय, नापी, मालपोत र स्थानीय पालिकाले ध्यान दिएर स्थानीय नागरिकलाई मर्का नपर्ने गरी सञ्चालन गर्ने वातावरण बनाउनुपर्छ भन्नुभयो।
जिल्ला समन्वय समितिका प्रमुख ऋषिदेव फूँयालले अनुगमनका क्रममा बन र खानी क्षेत्रको सीमाङ्कन एकीन गर्नुपर्ने, खानीबाट निस्किने धुलो, माटो र खेर जाने पदार्थको उचित व्यवस्थापन गर्नुपर्ने आवश्यकता देखिएको बताउनुभयो।
अनुगमनका क्रममा प्रमुख जिल्ला अधिकारी नरहरि घिमिरेले खानी सञ्चालन गर्न दिने नै हो भने सार्वजनिक बन, निजी वन र खानी क्षेत्रको सीमाङ्कन गरेर मात्रै सञ्चालन गरिनुपर्छ भन्दै यसका लागि वन, नापी, मालपोत र स्थानीय तहले उचित व्यवस्था गर्नुपर्ने बताउनुभयो।
गोदावरी नगरपालिकाका प्रमुख गजेन्द्र महर्जनले खानी सञ्चालन गर्दा कर तिरेकै आधारमा स्थानीयवासीलाई मर्का पर्ने कनम गर्न नहुनेमा जोड दिँदै वडा नम्बर ६ र अन्य वडाहरूको विकासका लागि बजेटको सिलिङमा कुनैपनि फरक नभएको बताउनुभयो।
लामो समयदेखि विवादित रहेकन यी खानीहरू अनुगमनका क्रममा बन क्षेत्रको अतिक्रम भएको, सीमाङ्कन भएर वन र खानी क्षेत्र नखुलेको, खानीबाट निस्कने धुलो सिधै खोलामा फ्याँक्ने गरेको पाइएको छ। काठमाडौं उपत्यकाको लागि निर्माण सामाग्री उपलब्ध गराउने कार्य यहाँबाट हुँदै आएको खानी सञ्चालकका प्रतिनिधिहरुको दावी छ।
२०५१ /५२ मा सुदर्शन विष्टले अनुमति पाएको निराकार ढुंगा रोडा उद्योगले दुई रोपनी जग्गाका आधारमा ३० रोपनीभन्दा बढि क्षेत्र ओगटेर खानी सञ्चालन गरी वन क्षेत्रबाट समेत ढुंगा रोडा उत्खनन गर्दै आएको छ।
अनुगमनका क्रममा सहभागी जिल्ला वन कार्यालय ललितपुरका प्रमुख संयोग बस्नेतले वनसंग जोडिएका यी दुई वटा ढुंगा रोडा उद्योगबिरुद्ध अदालतमा वन अतिक्रमण विरुद्ध मुद्दा चलिरहेको जानकारी गराउनुभयो।—

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय