काठमाडौँ । नेपालमा पश्चिमी वायु र मनसुनी प्रणालीको प्रभाव कायमै रहेकाले आज देशका अधिकांश क्षेत्रमा मौसम बदली रहने सम्भावना रहेको छ।
मौसम पूर्वानुमान महाशाखाका अनुसार कर्णाली र सुदूरपश्चिमका सबै भूभाग तथा गण्डकी र लुम्बिनीका पश्चिमी क्षेत्रमा पश्चिमी वायुको प्रभाव बढी देखिएको छ। यस्तै, कोशी, मधेस र बागमतीसहित गण्डकी तथा लुम्बिनीका अन्य क्षेत्रमा मनसुनी वायुको प्रभावसँगै पश्चिमी वायुको आंशिक असर रहेको छ।
हाल कोशी, बागमती, गण्डकी र लुम्बिनीका साथै कर्णाली तथा सुदूरपश्चिमका पहाडी क्षेत्रमा सामान्य बदली छ। देशका अन्य क्षेत्रमा भने आंशिक बदली देखिएको छ। बागमती, गण्डकी र लुम्बिनीका केही स्थानमा तथा कोशीका एक–दुई ठाउँमा अहिले मध्यम वर्षा भइरहेको छ।
दिउँसो देशभर सामान्यतया बदली रहनेछ। कोशी, बागमती, गण्डकी र लुम्बिनीका हिमाली क्षेत्रका केही स्थानमा तथा कर्णाली र सुदूरपश्चिमका हिमाली क्षेत्रमा एक–दुई स्थानमा चट्याङसहित वर्षा र हिमपात हुन सक्ने पूर्वानुमान छ। पहाडी क्षेत्रका केही ठाउँ तथा तराईका थोरै स्थानमा समेत चट्याङसहित मध्यम वर्षाको सम्भावना रहेको छ।
राति हिमाली तथा पहाडी क्षेत्रमा सामान्य बदली रहनेछ। लुम्बिनी र सुदूरपश्चिमको तराई क्षेत्रमा पनि बादल लाग्नेछ भने अन्य तराई क्षेत्रमा आंशिक बदली रहनेछ। हिमाली क्षेत्रका एक–दुई स्थानमा हल्का वर्षासँगै हिमपात र पहाडी क्षेत्रका केही स्थानमा चट्याङसहित मध्यमसम्म वर्षा हुन सक्ने महाशाखाले जनाएको छ।
त्यसैगरी, लुम्बिनी र सुदूरपश्चिमका तराई क्षेत्रमा केही स्थान तथा मधेससहित कोशी, बागमती र गण्डकीका तराई क्षेत्रमा एक–दुई स्थानमा चट्याङसहित मध्यम वर्षा हुन सक्ने सम्भावना रहेको छ।












