ललितपुर/ २० असोज: नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा ललितपुरका कांग्रेस नेता जितेन्द्र महर्जन ‘पारस’ले केन्द्रीय सदस्य पदमा उम्मेदवारी दिने भएका छन्। लामो समयदेखि कांग्रेसको संगठनमा सक्रिय महर्जनले पार्टीको विभिन्न तह र जिम्मेवारीमा रहेर काम गर्दै आएका महर्जनले आदिवासी जनजातितर्फ उम्मेदवारी दिने भएका हुन् ।
महर्जनले २०५२ सालदेखि कांग्रेसको राजनीतिमा सक्रिय हुँदै तत्कालीन ठैव गाउँ एकाइ समितिअन्तर्गत तरुण दलको अध्यक्षको जिम्मेवारी सम्हालेका थिए। त्यसपछि पार्टीको एकाइ सदस्य हुँदै १२औँ महाधिवेशनमा एकाइ सचिवको जिम्मेवारीमा पुगेका उनी १३औँ महाधिवेशनमा सर्वाधिक मत प्राप्त गर्दै क्षेत्रीय कोषाध्यक्षमा निर्वाचित भएका थिए।
त्यसपछि प्रदेश सभा संस्थापक क्षेत्रीय सभापतिको जिम्मेवारी सम्हालेका महर्जन १४औँ जिल्ला अधिवेशनमा सर्वाधिक मत प्राप्त गरी जिल्ला सदस्यमा निर्वाचित भएका थिए। त्यस क्रममा उनले जिल्ला कार्यसम्पादन समिति सदस्य तथा प्रचार–प्रसार प्रमुखको जिम्मेवारीसमेत निर्वाह गरेका थिए।
हालै सम्पन्न कांग्रेसको १५औँ क्षेत्रीय अधिवेशनबाट महर्जन आदिवासी जनजाति कोटातर्फ सर्वाधिक मत प्राप्त गर्दै महाधिवेशन प्रतिनिधिमा निर्वाचित भएका हुन्। उनले यसलाई पार्टी संगठनमा लामो समयदेखि गर्दै आएको सक्रियताको निरन्तरताका रूपमा लिएका छन्।
गत संसदीय निर्वाचनका क्रममा जिल्लाको निजी क्षेत्र समन्वय संयोजकको जिम्मेवारीसमेत सम्हालेका महर्जन आफ्नो निर्वाचन क्षेत्रमा सामाजिक गतिविधिमा समेत सक्रिय रहँदै आएका छन्। विभिन्न संघसंस्थामार्फत स्थानीयस्तरमा आवश्यक सहयोग गर्दै सामाजिक सेवामा समेत संलग्न रहँदै आएको उनको दाबी छ।
कांग्रेसको १५औँ महाधिवेशनमा युवा पुस्ताको सहभागिता र नेतृत्वमा प्रतिनिधित्वको विषयसमेत चर्चामा छ।
पार्टीमा नयाँ पुस्ताको सहभागिता र पुस्तान्तरणको बहस चलिरहेका बेला महर्जनले आफूलाई संगठनात्मक अनुभव र सामाजिक सक्रियतासहित केन्द्रीय नेतृत्वका लागि प्रस्तुत गरेका छन्।
केन्द्रीय सदस्य पदमा उम्मेदवारी घोषणा गर्दै महर्जनले कांग्रेसका महाधिवेशन प्रतिनिधिहरूसँग आफूलाई साथ, सहयोग र मत प्रदान गर्न आग्रह गरेका छन्।












