ललितपुर, २० असोज: पूर्वअर्थमन्त्री सुरेन्द्र पाण्डेको संयोजकत्वमा नागरिक आवाज अभियानको घोषणा भएको छ।
अभियानको घोषणाका बारेमा जानकारी दिन सोमबार ललितपुरमा आयोजित कार्यक्रममा धारणा राख्नुहुँदै पूर्वअर्थमन्त्री पाण्डेले नागरिक मुद्दा उठाउने साझा मञ्च आवश्यक भएकोले राजनीतिक दलभन्दा बाहिर रहेर सरकारलाई खबरदारी गर्ने सोचका साथ अभियानको घोषणा गरिएको जानकारी गराउनुभएको हो।
“देशमा राजनीतिक दलहरूले नागरिकका विविध सवाललाई प्रभावकारी रूपमा उठाउन नसकेको अवस्था छ, राजनीतिक परिवर्तन भए पनि त्यसअनुरूप आर्थिक रूपान्तरण हुन नसकेको, नागरिक समाजको आवाज कमजोर बन्दै गएको र विभिन्न क्षेत्रमा असन्तुष्टि बढिरहेको अवस्था छ, नागरिकका सवाललाई साझा रूपमा उठाउन यस्तो मञ्च आवश्यक रहेको बहस र छलफलहरु धेरै भए, अहिले राजनीतिक दलभित्रै आन्तरिक द्वन्द्व र विवाद देखिएको तथा नागरिकका गुनासा र सवाललाई प्रभावकारी रूपमा उठाउने वैकल्पिक प्लेटफर्मको अभाव देखिएको छ, पहिले नागरिक समाजका रूपमा सुनिने आवाजसमेत पछिल्लो समय कमजोर भएको छ।” उहाँले भन्नुभयो ।
उहाँले प्रस्तावित मञ्च कुनै राजनीतिक दल वा वैकल्पिक राजनीतिक पार्टीका रूपमा अघि नबढ्ने स्पष्ट पार्दै नागरिकका मुद्दा उठाउने, सरकारलाई जवाफदेही बनाउने र सही काममा सरकारलाई समर्थन तथा गलत काममा खबरदारी गर्ने साझा मञ्चका रूपमा विकास गरिने धारणा राख्नुभयो।
” नेपालमा २००७ सालदेखि हालसम्म पटक–पटक राजनीतिक परिवर्तन भए पनि नागरिकले अपेक्षा गरेअनुसार आर्थिक रूपान्तरण हुन नसकेको अवस्था छ, हरेक राजनीतिक परिवर्तनपछि नागरिकले आर्थिक समृद्धि, रोजगारी र देशमै भविष्य निर्माण गर्न सक्ने वातावरणको अपेक्षा गर्ने गरेका छन्, तर पछिल्लो समय विशेषगरी जेनेरेसन जेड (Gen Z) युवाले भ्रष्टाचारको अन्त्य तथा देशमै रोजगारीको अवसर सिर्जना हुनुपर्ने माग उठाएको हो, तरपनि गतवर्षको तुलनामा वैदेशिक रोजगारीतर्फ जाने युवाको संख्या घट्न नसकेको तथ्य यथार्थ छ।” उहाँले भन्नुभयो।
उपलब्ध तथ्याङ्कअनुसार गत वर्ष साउनमा करिब ६८ हजार जनाले वैदेशिक रोजगारीका लागि श्रम स्वीकृति लिएकोमा यस वर्ष सो संख्या करिब ७० हजार पुगेको उल्लेख गर्दै उहाँले राजनीतिक परिवर्तनपछि पनि युवामा नयाँ विश्वास सिर्जना भएको पर्याप्त संकेत नदेखिएको बताउनुभयो।
प्रस्तावित मञ्चमा विभिन्न राजनीतिक दलमा आबद्ध व्यक्ति, गैरदलीय नागरिक, सामाजिक क्षेत्रका व्यक्तित्व तथा सञ्चारकर्मीसमेत सहभागी हुने जानकारी गराउँदै उहाँले यो मञ्च कुनै निश्चित राजनीतिक विचारधारामा आबद्ध संगठन नभई राष्ट्रिय ध्येय, राष्ट्रिय उद्देश्य र राष्ट्रिय स्वार्थलाई केन्द्रमा राखेर नागरिकका सवाल उजागर गर्ने साझा थलोका रूपमा अघि बढाउने अवधारणा प्रस्तुत गर्नुभयो।
पूर्वमन्त्री एवम् पूर्वराजदूत दिपककुमार उपाध्यायले गैरराजनीतिक साझा संयन्त्रको रुपमा अगाडि बढाउन यो मञ्च महत्त्वपूर्ण हुने भन्दै दोषारोपण गरेर भन्दा जवाफदेहीता र पारदर्शिता कायम गरेर अगाडि बढ्नुपर्छ भन्नुभयो । उहाँले यस्ता मञ्चमार्फत संस्कृति, सभ्यता र इतिहासको गर्भिलो देशलाई समृद्ध बनाउन नागरिकमा आशा जगाउनु आवश्यक छ भन्नुभयो।
पूर्वमन्त्री हृदयेश त्रिपाठीले अहिले नेपाली समाज नै संक्रमणकालबाट ग्रुज्रिएकोले समाजमा गलत मुल्यमान्यता र एजेन्डा पनि स्थापित हुन सक्ने भन्दै यसका लागि ततस्ट र यथार्थ बिचार र भूमिका खेल्ने नागरिक अभियान आवश्यक छ भन्नुभयो।
राष्ट्रिय स्वतन्त्र पार्टीका संस्थापक डाक्टर मुकुल ढकालले पार्टी स्थापना गर्दा कांग्रेस एमालेलाई सुधार गर्ने सोचका अनुसार अगाडि बढेका थियौँ भन्दै अहिले राष्ट्रिय स्वतन्त्र पार्टीले अचानक आएको जिम्मेवारलाई आत्मसात गर्न सक्नुपर्छ भन्नुभयो।राष्ट्र निर्माणको जनमतलाई संगालेर अगाडि बढ्न सरकारलाई प्रेरित गर्न नागरिक आवाजलाई सशक्त बनाउन यो अभियानले सहयोगी भूमिका निर्वाह गर्ने उहाँले बताउनुभयो।
विश्लेषक अरुण सुवेदीले लामो समयदेखि आर्थिक स्वतन्त्रताको वकालत गर्दै आएको छु भन्दै संविधानमा संशोधनमा आर्थिक स्वतन्त्रता, परराष्ट्र नीति, साँस्कृतिक पहिचानलाई प्राथमिकता दिइनुपर्नेमा जोड दिनुभयो। यो अभियान अपेक्षाविनाको सामाजिक अभियान र राजनीतिक अभियान भएको भन्दै संसदमा प्रतिपक्षी सबल नभएकोले यो नागरिक अभियान आवश्यक भएको हो भन्नुभयो।
पूर्वमुख्यसचिव डाक्टर विमल कोइरालाले लोकतन्त्रको विकास र सम्वर्धनका लागि प्रेस र नागरिक समाजको ठूलो भूमिका हुन्छ भन्दै राजनीतिक लोभले नागरिक समाज हराएको धारणा राख्नुभयो। उहाँले मुलुकको शासनसत्ता र राजकाजमा सुधार नभएसम्म वास्तविक रुपमा नागरिक स्वतन्त्र हुँदैनन् भन्नुभयो ।
पूर्वसांसद एवम् बरिष्ठ अधिवक्ता रामनारायण विडारीले आफू १४ वर्षको उमेरदेखि नागरिकको आवाज उठाउन लागेको स्मरण गर्दै हिजोकै राजनीति दलहरुमा जस्तै समस्याको रोग अहिलेका मन्त्री र सांसदहरुमा पनि सरेको भन्नुभयो। उहाँले संसदमा विद्येयक माथिको छलफलमा दलीय ह्वीप नलाग्ने व्यवस्था भए पनि अहिलेको संसदमा गलत अभ्यास भएको भन्दै सच्याइनु पर्नेमा जोड दिनुभयो।
कार्यक्रममा विभिन्न राजनीतिक दलका दिग्गज व्यक्तित्वहरु, सामाजिक अभियान्ता, पत्रकारसहितका व्यक्तित्वहरुको उपस्थिति रहेको थियोे।—












